Latest News

ओली र प्रचण्डपछि वामदेव गौतमले भेटे माधव नेपाल, राजनीतिक वृत्तमा नयाँ तरंग

Nepalese Times July 1, 2022 (1 Year ago)    476 Views

काठमाडौं । चार दिनअघि (मंगलबार) मात्र नयाँ दल नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान गठन गरेका वामदेव गौतम अन्य कम्युनिस्ट पार्टीका प्रमुखसँग भेटवार्तामा सक्रिय भएका छन्।

यस क्रममा उनले बिहीबार साँझ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन्। यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उनकै निवास (खुमलटार) पुगेर भेटवार्ता गरेका गौतमले बिहीबार साँझ ७ बजे नेपाललाई पनि उनकै निवास (कोटेश्वर) पुगेर भेट गरेका हुन्।

नेपालसँगको भेटवार्ता सकारात्मक भएको गौतमको सचिवालयले बताएको छ। बिहीबारै बिहान गौतमले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवास (बालकोट) पुगेर भेटेका थिए।

गौतमले मंगलवार नयाँ दल घोषणा गर्दै आफू वाम दलबीच एकताको अभियानमा लाग्ने घोषणा गरेका थिए । तत्कालिन नेकपा विभाजित भएयता गौतम कुनै पनि दलमा लागेका थिएनन् ।

गौतमले कम्युनिस्ट एकतामा जोड दिँदै आएका छन् भने आफ्नो पार्टीले ३ महिनासम्म एकताका लागि पहल गर्ने गौतमले यसअघि नै घोषणा गरिसकेका छन् । सोही घोषणाअनुसार गौतमले दौडधूप बढाएका हुन् ।

वामपन्थी एकताको अभियान सञ्चालन गर्ने भनेका गौतमले ओलीसँग भेट्न बुधबारै समय लिएका थिए । बालकोट पुगेका गौतमलाई ओलीले नेकपा विभाजनमा प्रचण्ड–माधव र झलनाथसँगै गौतमको पनि भूमिका रहेको बताएका छन् ।

त्यसबेला बलियो पार्टी बनाउने, देश बनाउने भन्दा पनि कसले के खाने कसले के पाउने भन्नेमा सबैजना लागेको भन्दै ओलीले भने, ‘अहिले नै चाहियो भनेर मलाई घेराबन्दी गरेर पार्टी कब्जा गर्न खोज्दाका परिणामहरू पछि देखिएका हुन् ।’

भेटमा गौतमले अध्यक्ष ओलीसँगको भेटमा पुरानो मित्रता कायमै राखेर जाने सहमति भएको बताएका छन्। दुईजनाको मित्रतापूर्ण विगतबारे सम्झना गरेको बताए। ‘हामीले मित्रतापूर्ण विगतको सम्झना गर्‍यौं,’ गौतमले भने, ‘अब पनि मित्रता कायम राखेर जाऊँ भन्ने कुरामा सहमति भएको छ।’

एमाले अध्यक्ष ओलीलाई भेट्न गौतम बिहीबार बिहान बालकोट पुगेका थिए। भेटमा उनले आफ्नो ३ महिने अभियानबारे ओलीलाई लिखित जानकारी गराएका थिए।

‘हामीले कम्युनिष्ट पार्टीहरूबीच एकता गर्ने गरी गरेका निर्णयहरूबारे मैले उहाँलाई जानकारी गराएँ,’ उनले भने, ‘उहाँ त्यसमा बोल्नुभएको छैन। उहाँलाई मैले हाम्रो निर्णयहरु लिखित रुपमा जानकारी गराएको छु।’

गौतम नेपालका कम्युनिस्ट पार्टीहरूलाई एकीकृत गर्ने अभियानमा जुटेका छन्। उनले नयाँ दल घोषणा गर्दै तीन महिनासम्म एकीकृत गर्ने अभियानमा जुट्ने र सम्भव नभए दल दर्ताको अभियानमा अघि बढ्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस