Latest News

‘आमा बन्न चाहन्छु तर मेरो भावना बुझिदिने कसले ?’

Nepalese Times June 30, 2022 (1 Year ago)    558 Views

काठमाडौं । ललितपुरमा जन्मेकी हुन् सरिता केसी, ३५ वर्षकी भइन्। केही वर्षदेखि उनी अर्की एक महिलासँग बसेकी छन्। उनी आफूलाई द्विलिंगी अर्थात बाइसेक्सुअल महिला भन्छिन्। यसको अर्थ उनीहरू दम्पती हुन्।

सरिता आमा बन्न चाहन्छिन्। उनी आमा बन्ने दुई वटा उपाय हुन सक्छन्। एक– कोही पुरुषबाट बच्चा जन्माउने, दुई– अपरिचित पुरुषको शुक्रकीटबाट ‘इन भिट्रो फर्टिलाइजेसन’ गर्ने अर्थात् ‘टेस्टट्युब बेबी’ जन्माउने वा यस्तै प्रक्रिया अवलम्बन गर्ने।

यसबाहेक अर्को उपाय हो अरू कसैको छोरा/छोरीको धर्मआमा बन्ने। ‘म महिलालाई नै जीवनसँगीनी बनाएर सँगै बसेकी छु। त्यसैले आफैं गर्भधारण गरेर आमा बन्न सक्ने अवस्थामा छुइनँ,’ उनी भन्छिन्। अहिले पुरुषप्रति यौन आकर्षण कम हुँदै गएकाले पनि उनी आफैं गर्भधारण गर्न इच्छुक छैनन्।

सरिता कुनै आमाबाबुको बच्चा ‘एडप्ट’ गर्न चाहन्छिन्। तर यसमा उनका लागि कानुनी बाटो छैन। उनका अनुसार धर्मआमा वा धर्मबाबु बन्ने कानुनी व्यवस्था भए पनि उनीजस्ता फरक लैंगिक पहिचानका व्यक्तिका लागि यस्तो सुविधा छैन।

पारलैंगिक, समलैंगिक, द्विलैंगिक वा यस्तै फरक लैंगिक अवस्थाका महिला वा पुरुषले आफ्नो पहिचानसहित धर्मआमा वा धर्मबाबु बन्ने कानुनी व्यवस्था छैन।

‘म आमा बन्नुमा परेको मुख्य बाधा कानुनी विभेद नै हो,’ आफ्नो लैंगिक र यौनिक अवस्थाबारे सेतोपाटीसँगको कुराकानीमा उनले भनिन्।परिवारमा जेठी छोरी भएर जन्मेकी सरिता स्कुले जीवनमा चुलबुले स्वभावकी थिइन्। पढाइमा मेहनती र जिज्ञासु पनि थिइन्।

किशोरावस्थामा प्रवेश गरेर उकालो लाग्दै गर्दा उनले आफू केटी साथीहरूभन्दा केही फरक रहेको अनुभव गर्न थालिन्। उनी आफूजस्तै केटीसाथीसँग भावनात्मक रूपले आकर्षित हुन थालेकी थिइन्। यस्तो भावना क्षणिक हुन्थ्यो र त्यसको अन्तर्यमा के थियो भन्ने पनि उनले थाहा पाइनन्।

उमेर बढ्दै जाँदा केही केटा साथीहरूले उनलाई मन पराए। केहीले प्रेमपत्र पनि लेखे। तर उनले जवाफ दिइनन्। खासमा उनलाई केटाहरूप्रति यौन आकर्षण थिएन। आफ्नो मनभित्र के हुँदैछ भन्ने पनि उनले थाहा पाइनन्। केही फरक महसुस भएको कुरा पनि कसैलाई भन्न सकिनन्।

‘अहिलेजस्तो थिएन। त्यति बेला गुगलमा सर्च गरेर हेर्न सक्ने अवस्था थिएन। आफैंले खोजी गरेर बुझ्न पाउने सुविधा केही थिएन,’ त्यो समय सम्झिँदै सरिताले भनिन्, ‘समाजले जे बुझाएको छ त्यही पछ्याउनु पर्ने बाध्यता थियो।’

आफू अरू केटीहरू भन्दा केही न केही फरक छु भन्ने लागे पनि आफ्नो कुरा कसलाई, कसरी सुनाउने भन्नेमा सरिता अन्योलमा परिन्। आमालाई कसरी सुनाउने, के भन्ने, उनलाई थाहा भएन। साथीलाई सुनाउन पनि उनलाई यस्तै भयो। उनको भावना मनभित्रै गुम्सिएर रह्यो।

यत्तिकैमा उनले २०६१ सालमा एसएलसी उत्तीर्ण गरिन्। यसपछि उनी राजनीतिमा लागिन्। एउटा राजनीतिक दलको विद्यार्थी संगठनमा आबद्ध भएर केन्द्रीय तहसम्म पुगिन् तर लामो समय अडिइनन्। उनले भनिन्, ‘राजनीतिको भूत तीन वर्ष चल्यो। त्यसपछि आत्मनिर्भर हुनुपर्छ भन्ने लागेर जागिर खोज्नतिर लागेँ।’

उनी कलेज पढ्ने विद्यार्थी थिइन्। एउटा कोरियन प्रोजेक्टमा काम पनि पाइन्। यही समय कुनै एक पुरुषसँग उनको मन मिल्यो। दुवै जना एकअर्काका दुःखसुख साट्ने साथी भए। दिन बित्दै जाँदा प्रेम बस्यो। तर यो प्रेमसम्बन्ध धेरै दिन चलेन। खासमा प्रेम गाढा हुँदै जानुको सट्टा सरितालाई पुरुषप्रतिको आकर्षण घट्दै गयो। सेटोपाटीबाट

प्रतिक्रिया दिनुहोस