Latest News

संघ र प्रदेशको निर्वाचनको नयाँ मिति बाहिरियो

Nepalese Times June 28, 2022 (1 Year ago)    451 Views

काठमाडौं । आगामी मंसिर २१ गते संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने तयारी भएको सहरी विकासमन्त्री मेटमणि चौधरीले सरकारले खुलासा गरेका छन् ।

मंगलबार काठमाडौंमा भएको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले सरकारले आगामी मंसिर २१ गते निर्वाचन हुनेगरी संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने बताएका हुन् । सरकारले निर्वाचन गर्ने मिति नै नतोकेको भएपनि दुई–तीन महिनामा निर्वाचन घोषणा गर्ने तयारी रहेको भन्दै उनले मन्त्री पदमा रहेसम्म इमान्दारीताका साथ काम गर्ने प्रतिवद्धतासमेत जनाए ।

उनले मुलुकलाई सही बाटोमा लैजाने राम्रो भिजन भएको नेतृत्वको कमी रहेको बताए । मन्त्री चौधरीले राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु मात्रै इमान्दार भएरमात्रै मुलुक नबन्ने भन्दै सबै नेपाली नागरिक समेत इमान्दार हुनुपर्ने बताए ।

यस्तै आगामी प्रदेश र प्रतिनिधिसभा चुनावका लागि राजनीतिक दलदेखि स्वतन्त्र व्यक्तिहरुले उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भको छ । स्थानीय तह निर्वाचनमा काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन शाह, धरानमा हर्क साम्पाङ र धनगढीमा गोपाल हमालले जितेसँगै अहिले धेरै स्वतन्त्र व्यक्तिहरु चुनावी मैदानमा होमिने तयारीमा छन् ।

राजनीतिक दलका उम्मेदवारविरुद्ध सानदार जित निकालेपछि स्वतन्त्रबाट उम्मेदवारी दिनेको आकर्षण ह्वात्तै बढ्ने देखिएको छ । काठमाडौंमा स्वतन्त्रबाट उम्मेदवारी घोषणा गर्नेमा चर्चित सेलिब्रेटीहरूको एकपछि अर्को गरी उम्मेदवारी घोषणाको तयारी गरेका छन् । स्वतन्त्रबाट उम्मेदवारी दिने तयारीमा योपटक पूर्वप्रशासक, सामाजिक अभियान्तादेखि चर्चित सञ्चारकर्मीसम्म रहेका छन् ।

नयाँ पार्टी घोषणा गरेका रबि लामिछानेले काठमाडौंकै कुने एक निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने तयारीसहित ग्यालेक्सी टेलिभिजन छाडेका छन् । जसपा संघीय परिषद्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमीले पनि काठमाडौं क्षेत्र नंम्बर ५ बाट संघीय सांसदमा उम्मेदवारी दिने भएकी छिन् ।

त्यस्तै विवेकशील नेपालीकी पूर्वनेता रञ्जु दर्शनाले पनि क्षेत्र नम्बर ५ बाट आगामी संघीय निर्वाचनमा भाग लिने तयारी गरेकी छिन् । २०७४ को स्थानीय तहको निर्वाचनमा दर्शनाले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएकी थिइन् । उनले २३ हजार ४३९ मत पाएकी थिइन् ।

यसैगरी नेपाल प्रहरीका पूर्वडिआइजी तथा नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले क्षेत्र नम्बर १ वा ५ बाट निर्वाचन लड्ने तयारी गरेका छन् । अवकासपछि लामो समय भ्रष्टाचारविरूद्ध अभियान चलाइरहेका खरेलले संघीय सांसदका लागि उम्मेदवारी दिने तयारी गरेका हुन् । ‘इनफ इज इनफ’का अभियान्ता पुकार बमले यसअघि नै कांग्रेसका नेता प्रकाशमान सिंहको क्षेत्र नम्बर १ बाट संघीय सांसदका लागि आफ्नो उम्मेदवारी दिने बताइसकेका छन् ।

त्यस्तै कांग्रेसका युवा नेता नैनसिंह महरले संघीय सांसदका लागि उम्मेदवारी दिने तयारी गरेका छन् । नेविसंघका पूर्वअध्यक्षसमेत रहेका महर काठमाडौं क्षेत्र नम्बर ५ बाट निर्वाचनमा भाग लिने तयारी गरिरहेको उनी निकटले बताएका छन् । उनी कांग्रेस केन्द्रीय समेत हुन् ।

यसैगरी स्थानीय तह निर्वाचनमा काठमाडौं महागरपालिकामा मेयरमा पराजित भएका सामाजिक अभियान्ता सुमन सायमीले संघीय सांसदमा उम्मेदवारी दिने तयारी गरेका छन् । काठमाडौं महागनरपालिकामा सायमीले १३ हजार ७७० मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस