Latest News

इन्धनको मूल्य किन बढ्यो ? आपूर्ति मन्त्री नै यसो भन्छन्

Nepalese Times June 20, 2022 (1 Year ago)    447 Views

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य बढाउनुनु सरकारको बाध्यता रहेको बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री बडूले अहिले पेट्रोलियम पदार्थको मूल्य बढाउनुपर्ने बाध्यात्मक अवस्थामा रहेको बताए ।

अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्य बढेकाले नेपालमा पनि बढाउनुपर्ने बाध्यता रहेको भन्दै पेट्रोलियम पदार्थको मूल्य बढाउनुनु सरकारको बाध्यता रहेको बताएका हुन् । उनले पेट्रोलियम पदार्थ नेपालको उत्पादन नभएकाले विदेशबाट महँगोमा खरिद गर्नुपरेको र सस्तोमा बेच्नसक्ने अवस्थामा सरकार नरहेको बताए ।

उनले भने, ‘‘पेट्रोलियम पदार्थ हाम्रो उत्पादन होइन । बाहिरको बजारमा जे रेट छ त्यसैमा किनेर ल्याउने हो । किनेर ल्याएका रेटमा बेच्न सक्दैनौं । अझै पनि पेट्रोलमा ३१ रुपैयाँ घाटा भइरहेको अवस्था हो’

मन्त्री बडुले भने, ‘अहिले प्रत्येक महिना ९ अर्ब ६३ करोड रुपैयाँ घाटा रहेको छ । पेट्रोलियम पदार्थ खरिद गरे बापत भारतलाई २२ अर्ब रुपैया तिर्नुपर्ने अवस्था छ । यो महिनाभित्र तिर्नुपर्छ । सरकार मूल्यवृद्धि गर्नुपर्ने बाध्यात्मक अवस्थामा छ ।’

मन्त्री बडूले इन्धनमा लिँदै आएको प्रतिलिटर १० रुपैयाँ पूर्वाधार विकास कर घटाएर मूल्य कम गरेको दावी गरे । उनले कर घटाएर सस्तोमा पेट्रोलियम पदार्थ दिने प्रयास गरे पनि तत्काल प्रतिलिटर १० रुपैयाँ भन्दा कर घटाउन सक्ने अवस्था नरहेको पनि जिकिर गरे ।

मन्त्री बडूले पेट्रोल र डिजेलमा मूल्य बढाए पनि ७५१ रुपैयाँ घाटा खाएर एलपी ग्यासको मूल्य नबढाएको बताए । यस्तै नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी वृद्धि गरेसँगै वायुसेवा कम्पनीहरुले हवाई भाडा वृद्धि गरेका छन् ।

काठमाडौंबाट सबैभन्दा धेरै धनगढीका लागि ८४० रुपैयाँ भाडा बढी लाग्ने छ । अब काठमाडौं–धनगढी रुटको भाडा अधिकतम १६ हजार ८०५ रुपैयाँ पुगेको वायुसेवा सञ्चालक संघले जनाएको छ । यो सबैभन्दा उच्च दर हो । कम्पनीहरुले प्रतिस्पर्धाका आधारमा यसभन्दा कम मूल्यमा टिकट बेच्न सक्छन् । नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर १९ रुपैयाँ बढाएर १८५ रुपैयाँ पुर्‍याएको छ ।

काठमाडौंबाट सबैभन्दा कम सिमराका लागि १७० रुपैयाँ भाडा बढेको छ । अब यो विमानस्थलसम्मको यात्राका लागि अधिकतम ४ हजार १९५ पुगेको छ । भरतपुर पुग्न अब ४ हजार ९३५ रुपैयाँ लाग्ने छ । यहाँ २ सय रुपैयाँ भाडा बढेको छ । बढेको भाडा बुधबारबाट लागु हुनेछ ।

स्तै सार्वजनिक गाडीको भाडा फेरि ह्वात्तै बढेको छ । इन्धन महँगिएसँगै सार्वजनिक सवारीसाधनको भाडा पनि उच्च दरले बढेको हो । इन्धनको मूल्यअनुसार स्वचालित प्रणालीमार्फत भाडा परिवर्तन हुने व्यवस्थाअनुरुप यातायात व्यवस्था विभागले अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक यातायातमा भाडा बढाएको हो । विभागले अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको छ ।

अन्तरप्रदेश सार्वजनिक यात्रुबाहक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढेको छ । त्यस्तै पहाडी बाटोमा चल्ने मालबाहक सवारी साधनमा ६.९४ तथा तराईमा चल्ने मालबाहक सवारीसाधनमा ७.७ प्रतिशत भाडा बढेको छ । स्थानीय रुटमा सञ्चालन हुने यातायातको भाडा भने यथावत रहनेछ ।

 

प्रतिक्रिया दिनुहोस