Latest News

हवाई भाडा पनि ह्वात्तै बढ्यो, कुन ठाउँ पुग्न कति लाग्छ ? (सूचीसहित)

Nepalese Times June 20, 2022 (1 Year ago)    518 Views

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी वृद्धि गरेसँगै वायुसेवा कम्पनीहरुले हवाई भाडा वृद्धि गरेका छन् ।

काठमाडौंबाट सबैभन्दा धेरै धनगढीका लागि ८४० रुपैयाँ भाडा बढी लाग्ने छ । अब काठमाडौं–धनगढी रुटको भाडा अधिकतम १६ हजार ८०५ रुपैयाँ पुगेको वायुसेवा सञ्चालक संघले जनाएको छ ।

यो सबैभन्दा उच्च दर हो । कम्पनीहरुले प्रतिस्पर्धाका आधारमा यसभन्दा कम मूल्यमा टिकट बेच्न सक्छन् । नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर १९ रुपैयाँ बढाएर १८५ रुपैयाँ पुर्‍याएको छ ।

काठमाडौंबाट सबैभन्दा कम सिमराका लागि १७० रुपैयाँ भाडा बढेको छ । अब यो विमानस्थलसम्मको यात्राका लागि अधिकतम ४ हजार १९५ पुगेको छ । भरतपुर पुग्न अब ४ हजार ९३५ रुपैयाँ लाग्ने छ । यहाँ २ सय रुपैयाँ भाडा बढेको छ । बढेको भाडा बुधबारबाट लागु हुनेछ ।

यस्तै सार्वजनिक गाडीको भाडा फेरि ह्वात्तै बढेको छ । इन्धन महँगिएसँगै सार्वजनिक सवारीसाधनको भाडा पनि उच्च दरले बढेको हो । इन्धनको मूल्यअनुसार स्वचालित प्रणालीमार्फत भाडा परिवर्तन हुने व्यवस्थाअनुरुप यातायात व्यवस्था विभागले अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक यातायातमा भाडा बढाएको हो । विभागले अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको छ ।

अन्तरप्रदेश सार्वजनिक यात्रुबाहक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढेको छ । त्यस्तै पहाडी बाटोमा चल्ने मालबाहक सवारी साधनमा ६.९४ तथा तराईमा चल्ने मालबाहक सवारीसाधनमा ७.७ प्रतिशत भाडा बढेको छ ।

स्थानीय रुटमा सञ्चालन हुने यातायातको भाडा भने यथावत रहनेछ । गए राति १२ बजेबाट लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २१ रुपैयाँ तथा डिजेलरमट्टितेलमा २७ रुपैयाँ बढाएको थियो ।

हाल पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ र डिजेलरमट्टितेल प्रतिलिटर १९२ रुपैयाँ कायम भएको छ । डिजेलको मूल्य २७ प्रतिशत बढेकाले सोअनुसार भाडा समायोजन गरिएको विभागले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस