Latest News

यो मितिमा हुने भयो प्रतिनिधिसभा चुनाव, यी हुन् काठमाडौंबाट चुनाव लड्ने चर्चामा रहेका ८ अनुहार

Nepalese Times June 18, 2022 (1 Year ago)    1051 Views

काठमाडौं । आगामी प्रदेश र प्रतिनिधिसभा चुनावका लागि राजनीतिक दलदेखि स्वतन्त्र व्यक्तिहरुले उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भको छ । निर्वाचन आयोगसँगको परामर्शमा कात्तिक २७ र मंसिर ३ मा गरी दुई चरणमा सरकारले निर्वाचन मिति तोक्ने तयारी गरेको छ ।

स्थानीय तह निर्वाचनमा काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन शाह, धरानमा हर्क साम्पाङ र धनगढीमा गोपाल हमालले जितेसँगै अहिले धेरै स्वतन्त्र व्यक्तिहरु चुनावी मैदानमा होमिने तयारीमा छन् ।

राजनीतिक दलका उम्मेदवारविरुद्ध सानदार जित निकालेपछि स्वतन्त्रबाट उम्मेदवारी दिनेको आकर्षण ह्वात्तै बढ्ने देखिएको छ ।

काठमाडौंमा स्वतन्त्रबाट उम्मेदवारी घोषणा गर्नेमा चर्चित सेलिब्रेटीहरूको एकपछि अर्को गरी उम्मेदवारी घोषणाको तयारी गरेका छन् । स्वतन्त्रबाट उम्मेदवारी दिने तयारीमा योपटक पूर्वप्रशासक, सामाजिक अभियान्तादेखि चर्चित सञ्चारकर्मीसम्म रहेका छन् ।

चर्चित संचारकर्मी रबि लामिछानेले काठमाडौंकै कुने एक निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने तयारीसहित ग्यालेक्सी टेलिभिजन छाडेका छन् । उनले ७ गते विशेष कार्यक्रमको आयोजनासमेत गरेका छन् ।

जसपा संघीय परिषद्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमीले पनि काठमाडौं क्षेत्र नंम्बर ५ बाट संघीय सांसदमा उम्मेदवारी दिने भएकी छिन् ।

त्यस्तै विवेकशील नेपालीकी पूर्वनेता रञ्जु दर्शनाले पनि क्षेत्र नम्बर ५ बाट आगामी संघीय निर्वाचनमा भाग लिने तयारी गरेकी छिन् । २०७४ को स्थानीय तहको निर्वाचनमा दर्शनाले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएकी थिइन् । उनले २३ हजार ४३९ मत पाएकी थिइन् ।

यसैगरी नेपाल प्रहरीका पूर्वडिआइजी तथा नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले क्षेत्र नम्बर १ वा ५ बाट निर्वाचन लड्ने तयारी गरेका छन् । अवकासपछि लामो समय भ्रष्टाचारविरूद्ध अभियान चलाइरहेका खरेलले संघीय सांसदका लागि उम्मेदवारी दिने तयारी गरेका हुन् ।

‘इनफ इज इनफ’का अभियान्ता पुकार बमले यसअघि नै कांग्रेसका नेता प्रकाशमान सिंहको क्षेत्र नम्बर १ बाट संघीय सांसदका लागि आफ्नो उम्मेदवारी दिइसकेका छन् । स्थानीय चुनावमा मेयरमा उठ्ने तयारी गरेका उनले अन्त्यमा शाहलाई छोडेको दाबी गरेका छन् ।

त्यस्तै कांग्रेसका युवा नेता नैनसिंह महरले संघीय सांसदका लागि उम्मेदवारी दिने तयारी गरेका छन् । नेविसंघका पूर्वअध्यक्षसमेत रहेका महर काठमाडौं क्षेत्र नम्बर ५ बाट निर्वाचनमा भाग लिने तयारी गरिरहेको उनी निकटले बताएका छन् । उनी कांग्रेस केन्द्रीय समेत हुन् ।

यसैगरी स्थानीय तह निर्वाचनमा काठमाडौं महागरपालिकामा मेयरमा पराजित भएका सामाजिक अभियान्ता सुमन सायमीले संघीय सांसदमा उम्मेदवारी दिने तयारी गरेका छन् । काठमाडौं महागनरपालिकामा सायमीले १३ हजार ७७० मत प्राप्त गरेका थिए ।

आगामी निर्वाचनमा कांग्रेस महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र ४ बाट चुनाव लड्ने तयारी गरेको उनी निकट नेताको दाबी छ । मेयरमा पराजित भएपछि मेयर शाहलाई बधाई तथा शुभकामना दिँदै शाहसँगै विजयी सभामा हिँडेका थिए ।

त्यस्तै काठमाडौंको रत्नपार्कका लामो समय नेताहरू विरूद्ध अभियान चलाउँदै आएका चर्चित मुकुन्द घिमिरे पनि निर्वाचनमा भाग लिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस