Latest News

सिसडोल पुगेर फोहोरको गन्ध मापन गरेर फर्कियो वैज्ञानिकको टोली

Nepalese Times June 5, 2022 (1 Year ago)    1044 Views

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले ल्यान्डफिल साइटलाई गन्धरहित बनाएर फोहोर विसर्जन गर्ने बताए लगत्तै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को वैज्ञानिक टोली शनिबार सिसडोल पुगेको छ।

मेयर साहको आग्रहपछि नास्टले वैज्ञानिक डा। भोजराज पन्तको नेतृत्वमा वैज्ञानिक टोली सिसडोल ल्यान्डफिल साइट पठाएको हो। गन्ध मापन गर्न नमुना सङ्कलन गरेर फर्किएपछि नेपाल समाचारपत्रसँग कुरा गर्दै डा. पन्तले भने – ‘हामीले सिसडोल ल्यान्डफिल साइटको चार क्षेत्रको गन्ध मापन गर्न नमुना लिएर आएका छौँ। अब मापन गरेपछि मात्र कति मात्रामा गन्ध रहेको छ भन्ने थाहा लाग्नेछ।’

उनले सम्भवतः सोमबारभित्र नमुना परीक्षण गरिसक्ने जानकारी दिए। गन्ध को हानिकारक मात्रा परीक्षणपछि गन्ध हटाउन कुन प्रकारको रसायन प्रयोग गर्ने भन्ने विषयमा निर्णय हुने बताइएको छ।

यस्तै सहरी विकास मन्त्री रामकुमारी झाँक्रीसँग काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले फोहोर व्यवस्थानपनबारे परामर्श गरेका छन्। बन्चरेडाडाँमा कहिले र कसरी फोहोर लैजानेबारे शनिबार मन्त्री झाँक्री र मेयर साहबीच छलफल भएको हो।

यसअघि शुक्रबार मेयर र उपमेयरसहितको टोली सिसडोल पुगेको थियो। जहाँ स्थानीयबासीले आफूहरुका माग पूरा नभएको भन्दै फोहोर फ्याँक्न नदिने अडान लिएका थिए।

दुई साताभन्दा लामो समयदेखि काठमाडौंका चोक चोकमा फोहोर थुप्रिएको छ। नुवाकोट र सिसडोल र धादिङको बन्चरेडाँडा दुवैतिर फोहोर फ्याँक्न स्थानीयले अवरोध गरिरहेका छन्।

मन्त्री झाँक्रीले बन्चरेडाँडा ल्याण्डफिल्ड साइटको ‘सेल वान’ मा फोहोर फाल्न सकिने गरी निर्माण भइसकेकोले व्यवस्थापनका लागि महानगरलाई आफ्नो पूर्ण सहयोग रहने बताइन्।

उनले बन्चरेडाँडा ल्याण्डफिल्ड साइटबारे मन्त्रालयको प्रतिवद्धता पूरा गर्नेसमेत वचन दिइन्। जग्गा अधिग्रहण गर्नुपर्ने स्थानीयको मागबारे प्राविधिक टोलीको अध्ययन प्रतिवेदनपछि मात्रै टुंगोमा पुग्न सकिने भएकाले तत्काल फोहोर व्यवस्थापन गर्न मन्त्रालयले समन्वय गर्ने उनले बताइन्।

मन्त्री झाँक्री र साहबीच बन्चरेडाडाँमा फोहोरको वैज्ञानिक व्यवस्थापनबारे समेत छलफल भएको थियो। काठमाडौंको फोहोर व्यवस्थापन आफ्नो प्रमुख प्राथमिकतामा रहेको बताउँदै मन्त्रालयलाई समन्वय गरिदिन महानगर प्रमुख साहले आग्रह गरे।

छलफलमा उपमेयर सुनिता डंगोलको समेत उपस्थित थिइन्। कामपाको मेयरमा विजयी भए लगत्तै फोहोर व्यवस्थापनका लागि मेयर साहले विशेष सक्रियता देखाएका छन्। उनले बुधवार पनि मन्त्री झाँक्रीसँग काठमाडौंको फोहोर व्यवस्थापन र बन्चरेडाडाँ ल्याण्डफिल्ड साइट सञ्चालनबारे छलफल तथा परामर्श गरेका थिए।

प्रतिक्रिया दिनुहोस