Latest News

अन्ततः पेट्रोलको मूल्य घट्यो, अब लिटरको कति ?

Nepalese Times June 2, 2022 (1 Year ago)    566 Views

काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मटितेलको मूल्य घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य लिटरमा १०–१० रुपैयाँले घटाउने निर्णय गरेको हो ।

सरकारले पेट्रोलियम पदार्थमा लाग्ने प्रतिलिटर १० रूपैयाँ पूर्वाधार कर घटाएपछि मूल्य समायोजन भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

बजेट वक्तव्यमार्फत नै सरकारले पेट्रोलमा लगाएको कर घटाउने घोषणा गरेको थियो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य बढ्दै जाँदा उच्च दरको करका कारण मूल्य पनि आकासिएको थियो ।

डा युवराज खतिवडा अर्थमन्त्री भएका बेला प्रतिलिटर इन्धनमा पूर्वाधार कर समेत जोडेर लिन सुरु भएको थियो । त्यसलाई हटाउन माग हुँदै आएपनि सरकारले बेवास्ता गर्दै आएको थियो ।

नेपालको पेट्रोलियम पदार्थको मूल्य आन्तरिक कारण, अन्तर्राष्ट्रिय बजार मूल्य एवं इन्डियन आयल कर्पोरेसन (आईओसी) मा आधारित हुन्छ। मुख्यत: अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको खण्डमा नेपालमा स्वत: मूल्यवृद्धि हुने गर्छ।

सरकारको बजेट र निगमका नीतिहरूका कारण पनि पेट्रोलियम पदार्थको मूल्यमा असर पर्ने गर्छ। सरकारले गत सालको बजेटमा पेट्रोल, डिजेल र मट्टीतेलमा लाग्ने भन्सार महसुल बढाएको थियो जसले गर्दा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको थियो।

यसैगरी नेपाल सरकारले सबै पेट्रोलियम पदार्थमा मूल्य अभिवृद्धि करबाहेक नै प्रतिलिटर निश्चित रकम तोकेर राजस्व उठाउने गरेको छ।

नेपालले भारतको इन्डियन आयल कर्पोरेसन (आईओसी) सँग इन्धन खरीद गरेर मुलुकमा बिक्री वितरण गर्छ। त्यसैले नेपालको पेट्रोलियम पदार्थको मूल्य आईओसीले तय गरेकै मूल्यमा आधारित हुन्छ।

नेपाली बजारमा इन्धनको मूल्य अन्तर्राष्ट्रिय बजार मूल्यसँगै आईओसीको मूल्यमा पनि निर्भर हुन्छ। आईओसीले नेपाल आयल निगमलाई हरेक १५ दिनमा नयाँ समायोजित मूल्य पठाउने गर्दछ र त्यसैअनुरूप नेपालले पनि आवश्यकता अनुरूप मूल्य समायोजन गर्दछ।

प्रतिक्रिया दिनुहोस