Latest News

काठमाडौंको मेयर जितेलगत्तै बालेन साहकी श्रीमतीले लेखिन् यस्तो स्टाटस

Nepalese Times May 27, 2022 (1 Year ago)    1406 Views

काठमाडौं । काठमाडौं महानगरपालिकाको भारी मतसहित विजयी भएका बालेन्द्र शाह ‘बालेन’लाई उनकी पत्नी सविना काफ्लेले पनि बधाई दिएकी छिन् ।

सामाजिक संजाल फेसबुकमार्फत बालेनकी श्रीमती काफ्लेले बधाई दिएकी हुन् । उनले निर्वाचन आयोगले बालेनलाई औपचारिक रुपमा विजेता घोषित भएलगत्तै घर भित्रबाट जितेर हिँडेको मानिसको बाहिर कहिले पनि हार नहुने बताएकी छिन् ।

स्वतन्त्र उम्मेदवारी घोषणा गरेका बालेनले लौरो चिन्ह पाएका थिए । निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा बालेनले ६१ हजार ७ सय ६७ मतल्याएका छन् ।

कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले ३८ हजार ३ सय ४१ मतल्याउन सकिन भने एमालेका केशव स्थापितले ३८ हजार १ सय १७ मत पाए। बालेनले आफ्ना निकटतम् प्रतिद्वन्द्वीको भन्दा २३ हजार ४ सय २६ मत बढी ल्याएका हुन् । उनी यतिबेला विजयी ¥यालीमा छन् ।

यस्तो छ उनको स्टाटस
आज तिमी मेरो बालेनबाट हाम्रो बालेन भएका छौ र यसो भनिरहँदा मेरो मन अलिकति पनि खुम्चिएको छैन बरु गर्वले छाती फुलेको छ, शिर उचालीएको छ ।

तिम्रो संयमता नै तिम्रो शक्ति हो । दिन रात नभनी तिमीले गरेको मिहेनतको फल आज सबै सामु प्रष्ट छ । तिम्रो धैर्यता र दृढतालाई कोटी कोटी नमन् !

घरी घरी डर पनि लाग्छ , अगाडि विशाल भवसागर छ , बाधा अड्चन चुनौतीहरूको अड्कल काट्न पनि मन डराउँछ तर फेरि जनमानसमा तिमी प्रतिको विश्वास सम्झन्छु, उहाँहरुको माया सम्झन्छु, उहाँहरुको साथ सम्झन्छु, तिम्रो दृढता सम्झन्छु अनि मन ढुक्क हुन्छ । चुनौतीहरु धेरै आउलान् तर तिमीले भन्ने गरेजस्तै गारो होला तर असम्भव छैन ।

तिमीलाई आफ्नो कार्यकालमा कहीँकतै नडगमगिने शक्ति मिलोस् ।अब तिमीले जीवनमा पछाडि फर्केर कहिले हेर्न नपरोस् । पछाडि हेर्न परे पनि कृतज्ञताका लागि मात्र होस् ।

तिम्रा पाइला अगाडि मात्र बढिरहुन् , ती अगाडि बढिरहेका पाइलासँग साथमा साथ हिँड्न मेरो प्रेम, मेरो विश्वास , मेरो साथ अनि समर्थन तिमीसँग सदैव हुनेछ ।

घर भित्रबाट जितेर हिँडेको मानिसको बाहिर कहिले पनि हार हुँदैन । म तिमीलाई कहिले हार्न दिने छैन । मेरा हरेक प्रार्थनामा तिम्रो सफलता हुनेछ । तिमीलाई हार्दिक बधाई । मलाई हार्दिक बधाई । हामी सबैलाई हार्दिक बधाई ।

प्रतिक्रिया दिनुहोस