Latest News

सरकारको नीति तथा कार्यक्रमबारे सुरेन्द्र पाण्डेले दिए यस्तो प्रतिक्रिया

Nepalese Times May 24, 2022 (1 Year ago)    574 Views

काठमाडौं ।सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रम कार्यन्वयन गर्न जटिल भएको पूर्व अर्थमन्त्री एवं नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले टिप्पणी गरेका छन् ।

संसद भवनबाहिर संवाददाताहरुसँग कुरा गर्दै पाण्डेले सरकारले पेस गरेको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न बजेट व्यवस्था गर्न नसकिने दाबी गरे । कतिपय कुरामा पुरानाको निरन्तरता रहेको भन्दै उनले यसमा गर्न सकिने र नसकिने जम्मै कुरा हालिएको बताए ।

यो कुरा बजेटले सुनिश्चित नगरेसम्म कार्यान्वयनको कुनै टुंगो नभएको भन्दै उनले यसले राखेको लक्ष्यलाई पैसामा जोड गरेर हाल्यो भने यसले २५ खर्ब माग गर्न र कोषमा पाँच खर्ब पनि पैसा नरहेको बताए ।

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम पुनर्संरचना गर्ने घोषणा गरेको छ । मंगलबार संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गरेको नीति तथा कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सबै तहको स्वामित्व स्थापित हुने गरी पुनर्संरचना गरिने उल्लेख छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई रोजगारी, सीप विकास र उद्यमशीलतासँग सम्बन्धित कार्यक्रमहरूको प्रभावकारिता अध्ययन गरी एकीकृत रूपमा कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । आगामी आर्थिक वर्षको प्राथमिकतामा सरकारले कृषि, यातायात, ऊर्जा, पर्यटन र सूचना प्रविधिलाई राखेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक गरेको नीति तथा कार्यक्रमले आर्थिक संवाहकको रुपमा उक्त क्षेत्रलाई राखिएको जानकारी दिएकी हुन् । उनले संसदको संयुक्त बैठकसमक्ष भनिन्, ‘मौद्रिक नीतिको संयोजनबाट आर्थिक वृद्धि र स्थायित्व हासिल गरिनेछ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकाे सम्बोधनको प्रति टेबुल गरेका थिए । प्रतिनिधिसभाको आजको बैठकमा उनले सम्बोधनको सो प्रति टेबुल गरेका हुन् ।

यसैगरी बैठकले राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई आज गराएको सम्बोधनको लागि धन्यवाद ज्ञापन गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गरेको, “सम्माननीय राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्वत् २०७९ साल जेठ १० गते मङ्गलबारका दिन गर्नुभएको सम्बोधनको लागि प्रतिनिधि सभाको यो बैठक सम्माननीय राष्ट्रपति महोदयमा धन्यवाद ज्ञापन गर्दछ”, भन्ने प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो ।

बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए । सो पत्रअनुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल संयुक्त अधिराज्यको लण्डनमा आयोजना हुने कार्यक्रम सहभागी हुन यही जेठ ७ गते प्रस्थान गर्नुभएकाले उहाँको अनुपस्थितिमा अर्थमन्त्री जनार्दन शर्माले सो मन्त्रालयको कार्यभार सम्हाल्ने गरी प्रधानमन्त्रीले तोकेका छन् ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका लागि सभामुखले यही जेठ १२ र १३ गतेका लागि दिन तोक्नुभएको छ । प्रतिनिधिसभाको अर्काे बैठक यही जेठ १२ गते बिहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस