Latest News

मतगणना चल्दाचल्दै बालेन साहले गरे यस्तो घोषणा, छायो खुशियाली

Nepalese Times May 23, 2022 (1 Year ago)    1013 Views

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका प्रत्यासी बालेन्द्र साहले फिल्म क्षेत्रमा लाग्दै आएको ५ प्रतिशत करमध्ये २ प्रतिशत कर मिनाहा गर्ने घोषणा गरेका छन् ।

सोमबार सभागृहको मतगणना स्थलबाट समय निकालेर फिल्म ‘चिसो मान्छे’को ट्रेलर सार्वजनिक कार्यक्रममा उनले यस्तो घोषणा गरेका हुन् ।

नेपाली कलालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताउँदै बालेनले विदेशमा समेत प्रतिस्पर्धा गर्न सक्ने क्राफ्ट निर्माण गर्नुपर्ने बताए । फिल्मका दुई मुख्य कलाकार स्वस्तिमा खड्का र अर्पण थापाको उनले प्रशंसा गरे ।

ठूलो मतान्तरले निकटतम प्रतिस्पर्धीलाई चुनावी मतगणनामा पछि पारेका बालेनसामु कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले केही माग प्रस्तुत गरेको थिए ।

यदि बालेन मेयर निर्वाचित भएमा दाहालले नेपाली फिल्मलाई लगाउँदै आएको ५ प्रतिशत स्थानीय कर मिनाहा गर्न उनको आग्रह थियो ।

त्यसको जवाफमा बालेनले कोरोना प्रभावित नेपाली फिल्म क्षेत्रलाई राहत दिन आफू मेयर भए महानगरले एक वर्षसम्मका लागि २ प्रतिशत कर मिनाहा गर्ने घोषणा गरेका हुन् ।

आफ्नो घोषणापत्रमै फिल्मसहित कला संस्कृतिलाई सम्वर्द्धन गर्नुपर्छ भन्ने उल्लेख रहेको भन्दै उनले आफूले जितेमा त्यो प्रक्रिया अघि बढ्ने बताए ।

असार ३ गते रिलिज हुने फिल्म ‘चिसो मान्छे’लाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । निर्मात्री शर्मिला पाण्डे चुनावअघिदेखि नै बालेनको पक्षमा खुलेर निर्वाचन अभियान चलाइरहेकी थिइन् ।

निर्देशक खनालले पनि बालेनको पक्षमा भोट मागेका थिए । सोमबार फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस