Latest News

एमाले र माओवादीबीच फेरि एकताको पहल सुरु, दुबै पार्टीका यी नेताहरुबीच के–के भयो कुराकानी ?

Nepalese Times May 18, 2022 (1 Year ago)    1356 Views

Jकाठमाडौं । स्थानीय तह निर्वाचनमा भएको तालमेलप्रति नेकपा माओवादीका नेताहरु असन्तुष्ट बनेका छन् । माओवादी र एकीकृत समाजवादीका नेताहरुले पुरै विश्वास गरेर कांग्रेसको पक्षमा भोट दिएको भए पनि आफूहरुले भने धोका पाएको माओवादी केन्द्रसहितका नेताहरुको गुनासो छ ।

चुनावी तालमेलप्रति असन्तुष्ट नेताहरुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मिलाउने पहल सुरु गरेका छन् ।

स्थानीय निर्वाचनको परिणाम देशभरबाट आउँदै गर्दा दुवै दलका दोस्रो र तेस्रो तहका नेताहरुले यस्तो पहल सुरु गरेका हुन् । चुनावी परिणामप्रति सबैभन्दा बढी असन्तुष्टि माओवादीमा देखिएको छ । माओवादी नेताहरु खुलेआम काँग्रेसबाट धोका भएको भन्न थालेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष नारायणकाजी श्रेष्ठले नेकपा एमालेका नेताहरु सुवासचन्द्र नेम्वाङलगायत नेताहरुसँग वाम एकताको प्रस्ताव अघि सारेका छन् । उनले एमालेले समिक्षा गरेमा धेरै सम्भावनाहरु भएको बताएका छन् ।

माओवादी नेता वर्षमान पुन प्रचण्ड र ओलीबीचको सहमति बनाउन निरन्तर लागिरहेका छन् । पुनले नेकपा एमालेका नेताहरु योगेश भट्टराई, विशाल भट्टराई, पृथ्वी सुब्बा गुरुङलगायत नेताहरुसँग निरन्तर छलफल गरिरहेका छन् ।

यसअघि प्रचण्डले भरतपुरको सभामा बोल्दै माओवादीलाई मत नदिएर टेन्सन नदिन चेतावनी दिएका थिए । उनले घुमाउरो तरिकाले गठबन्धन नै तोड्न सक्ने समेत बताएका थिए । यसले राजनीतिकवृत्तमा तरङ्ग ल्याएको थियो ।

नेकपा एसका सम्मानित नेता झलनाथ खनाल समेत गठबन्धनबीचको तालमेलमा धोका भएको भन्दै असन्तुष्ट छन् । उनले गठबन्धनबारे पुनः विचार गर्ने समेत बताएका छन् । खनालले एमालेसँग पुनः एकताको सम्भावना औल्याए ।

गठबन्धनबीच चुनावी तालमेलले नेपाली काँग्रेसलाई सबैभन्दा फाइदा पुगेको छ । काँग्रेसले ७५३ पालिकामा ३ सय कटाउने निश्चितप्रायः छ । एमाले २ सयको हाराहारीमा पुग्ने देखिन्छ । माओवादी भने एक सय कटाएर तेस्रो स्थानमा रहने देखिएको छ ।

नेकपा एसले भने आशा गरेभन्दा कम पालिका जित्ने देखिदैछ । एसले २० को हाराहारीमा पालिका जित्ने सम्भावना छ । यसकारण पनि माधव नेपाल र झलनाथ खनाल असन्तुष्ट बनेका छन् ।

यो असन्तुष्टिले वामपन्थीहरुलाई पुनः एक ठाउँमा ल्याउने अवस्था सृजना गर्न थालेको छ । यसमा एमाले र माओवादीका दोस्रो र तेस्रो तहका नेताहरु सक्रिय भएका छन् ।

प्रतिक्रिया दिनुहोस