Latest News

गठबन्धनलाई हराउँदै ललितपुरको पालिकामा एमाले विजयी

Nepalese Times May 16, 2022 (1 Year ago)    585 Views

काठमाडौं । ललितपुरको कोन्ज्योसोम गाउँपालिका अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ। एमाले उम्मेदवार कृष्णमान लामा ३ हजार १ सय ४ मतसहित विजयी भएका हुन्।

उपाध्यक्षमा भने नेपाली कांग्रेस विजयी भएको छ। उपाध्यक्षमा निर्वाचित नेपाली कांग्रेसका राजन प्रसाद घिमिरे ३ हजार २ सय २७ मतसहित विजयी भएको निर्वाचन आयोगले जनाएको छ।

अध्यक्षका प्रत्याशी माओवादीका गोपि लाल सिंतान २५०९ मत प्राप्त गरेका छन्। सिंतान निवर्तमान अध्यक्ष समेत हुन्। यो पालिकामा ०७४को निर्वाचनमा माओवादी केन्द्र एक्लै विजयी भएको थियो।

अहिले त्यहाँ माओवादी केन्द्र र नेपाली कांग्रेसबीच तालमेल भएको थियो। यो गाउँपालिकामा भएका ५ मध्ये माओवादी केन्द्रले २, नेपाली कांग्रेसले २ र नेकपा एमालेले १ वडाध्यक्ष जितेको छ।

त्यस्तै कास्कीको रुपा गाउँपालिकामा नेकपामा एमालेका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका हुन् । अध्यक्षमा एमालेका नबराज ओझाले ५७४९ मत ल्याएर विजयी हुँदा नेपाली काँग्रेसका गीमाया गुरुङले ४१३७ मत ल्याइन् ।

यस्तै उपाध्यक्षमा लाल सुबा गुरुङले ५३३२ मत ल्याएर विजयी हुँदा काँग्रेसका नारायण श्रेष्ठ ४१५३ ले पराजित भएका छन् । यस्तै एमालेले वडा नम्बर २,३,४,५,६ र ७ मा प्यानलसहित विजयी भएको छ ।

यस्तै पोखरा महानगरपालिकामा नेकपा एकीकृत समाजवादीले अग्रता कायमै राखेको छ । जारी मतगणनामा एकीकृत समाजवादीका उम्मेदवारले सुरुवातदेखि नै अग्रता कायम गरेका हुन् ।

पछिल्लो मतपरिणाम अनुसार मेयर पदमा समाजवादीका धनराज आचार्यले अग्रतालाई निरन्तरता दिएका छन् । उनले ४०४१ मत प्राप्त गर्दा नेकपा एमालेका कृष्ण थापाले ३६५७ मत प्राप्त गरेका छन् ।

यस्तै उपप्रमुखमा एमालेले ४१५१ मत ल्याएको छ भने नेपाली काँग्रेसले ४१११ ल्याएको छ । पोखराको महानगरपालिकाका १२,२३,२४ र २५ वडाको मत गणना जारी छ भने १ र २ को नतिजा घोषणा भएको छ ।

सत्तारुढ पाँच दल र राप्रपासहितको गठबन्धनलाई हराउँदै दमक नगरपालिका १ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । उक्त नगरपालिका एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर पनि हो।

केहीबेर अघि सार्वजनिक मत परिणाम अनुसार सो वडामा एमालेका हरी नेउपानेको प्यानल नै विजयी भएको छ। नेउपानेले १२ सय ८८ मत ल्याउँदा गठबन्धनका तारा अधिकारीले १२ सय ६३ मत ल्याइन्।

नगरपालिका प्रमुखमा पनि एमालेकै गीता अधिकारीले अग्रता जारी राखेकी छन्। उनले गठबन्धनका उम्मेदवारलाई ४१ मतले पछि पारेकी छन्। उपप्रमुखमा भने गठबन्धनकी रेगिना प्रसाईंले १२ सय ८४ मत ल्याएर अग्रता लिँदा एमालेबाट उपप्रमुख उम्मेदवार अम्बिका खनालले ११ सय ४९ मत पाएकी छन्।

प्रतिक्रिया दिनुहोस