Latest News

बालेनको जितहारमा खसी बाजी राख्ने दुई भाइ पक्राउ, के होला कारबाही ?

Nepalese Times May 16, 2022 (1 Year ago)    650 Views

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले चुनाव जित्लान् कि हार्लान् भन्नेमा बाजी राख्ने दुई जना पक्राउ परेका छन्।खोटाङको दिक्तेलबाट उनीहरुलाई सोमबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी उमेश लम्सालले बताए।

आइतबार बिहान खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ५ का रमेश खड्का र सोही वडाका विजय फुयालले कागज नै गरेर बाजी राखेका हुन्। बालेन शाह महानगर प्रमुखमा विजयी भए रमेशले २८ केजीको खसी विजयलाई दिने कागजमा उल्लेख छ। बालेन शाह हारेमा विजयले २८ केजीको मूल्य भुक्तानी गर्ने कागज गरेका थिए। उक्त कागज उनीहरुले सामाजिक सञ्जालमार्फत सार्वजनिक समेत गरेका थिए।

यसरी बाजिराख्नु गैरकानुनी मानिन्छ। उनीहरुमाथि अनुसन्धान भइरहेको लम्सालले बताए। उनीहरुले अन्य व्यक्तिको रोहवरमै कागज गरेका हुन् । तर, यसरी बाजी राख्नु गैरकानुनी हो। लौरो चिन्हबाट स्वतन्त्र उम्मेदवारी दिएका बालेनले एमाले र कांग्रेसका उम्मेदवारलाई पछि पार्दै अग्रता लिइरहेका छन्।

मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले ७ हजार मत कटाएका छन् । सोमबार २ बजेको नतिजाअनुसार साहले ७ हजार ८९ मत ल्याएका छन् । त्यस्तै एमालेका केशव स्थापितले ३७ सय ४६ र काँग्रेसका सिर्जना सिंहले ३३०० मत प्राप्त गरेकी छन् ।

मतगणनास्थलमा हेरिएको मतपत्रअनुसार मेयरको भोट जसरी पनि लौरोमै हाल्नुपर्छ भन्ने ट्रेण्ड देखिएको एमालेका ति प्रतिनिधिको भनाइ छ । ‘हामीले सात सूर्य सात छाप भनेर मतदातालई सिकाएका हौं,’ उनी भन्छन् ‘ ब्यालेटको मतमा एक छाप लौरो ६ छाप सूर्य देखिन्छ ।’ आफ्नो पार्टीको भित्री मतदाता रहेको भनि गरिएको आकलन र टोलबाट समेत मेयर पदमा लौरोमा मात्रै एउटा मत खसाएको पाइएको ती प्रतिनिधिको भनाइ छ ।

एमालेको जस्तै दुःख ब्यालेटमा नेपाली कांग्रेसलाई पनि छ । गणना भएका वडाहरुमा तेस्रो स्थानमा कांग्रेसी मत देखिनुले गठबन्धनले काम नगरे जस्तो पाइएको नेपाली कांग्रेसका एक प्रतिनिधिले बताए । उनको भनाइमा कांग्रेसी कार्यकर्ताले मत माग्दै मेयरको मत बालेनका लागि मागेको जस्तो देखिएको छ ।

‘मत गणना भएका वडाहरुमा वडा अध्यक्ष पदमा एमालेसंग तिब्र प्रतस्पर्धा छ तर मेयर पदमा एउटा भोट अनिवार्य जस्तै गरेर लौरोमा हालिएको छ,’ ती प्रतिनिधि भन्छन् ‘एक भोट बालेनका लागि र बाँकी भोट कांग्रेसलाई माया गरेर पार्टीका लागि हालेको जस्तो देखिन्छ ।’

मत गणना स्थलमा देखिएको दृश्यअनुसार काठमाडौं महानगर पालिकामा बदर मतको संख्या धेरै हुने आकलन गरिएको छ । हरेक वडामा भएको मतदानमा दल र स्वतन्त्र उम्मेदवार बालेन साह दुबैलाई मत हाल्न खोजेका कारण बदर मतको संख्या उच्च छ ।

एमाले, कांग्रेस र राप्रपाका लागि धेरै मतदान गरेका मतदाताले बालेनको लौरो चिन्हमा पनि मतदान गरेको स्थलगत रिपोर्टिङमा देखिको छ । मतदाताहरुले एक भोट लौरोमा, अर्को भोट पनि मेयरकै सूर्यमा खसाएका छन् ।

यस्तै एक भोट लौरोमा र अर्को भोट पनि मेयरको कांग्रेसमा खसाएका कारण बदर धेरै देखिएको छ । मतगणना स्थलमा खटिएका दलका प्रतिनिधिहरुका अनुसार वडा अध्यक्ष र सदस्यहरुमा लहरै मत हालिए पनि मेयर पदका लागि गरिने मतदानमा साह, स्थापित र सिंहलाई तीनवटैमा खसाउन खोज्दा धेरै मत बदर भएको छ ।

प्रतिक्रिया दिनुहोस