Latest News

२२ वर्षमै गाउँपालिका अध्यक्ष बने सर्लाहीका राजाबाबु

Nepalese Times May 16, 2022 (1 Year ago)    757 Views

सर्लाहीको रामनगर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबैमा नेकपा माओवादी केन्द्रले जितेको छ । अध्यक्षमा २२ वर्षीय राजाबाबु यादव र उपाध्यक्षमा गीता देवी विजयी भएका हुन् ।

अध्यक्षमा २२ वर्षीय राजाबाबु यादव ४०८१ मतसहित विजयी भएका हुन्। उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका हरिनन्दनप्रसाद यादवले २३९२ मत ल्याए।

स्वतन्त्र उम्मेदवार केएस राहुल बर्माले १७०७ मत प्राप्त गरेका छन्। त्यसैगरी उपाध्यक्षमा माओवादीकी गीता देवीले ३५२३ मत प्राप्त गरी विजयी भएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी कोशिला साहले २६३७ मत ल्याएकी छन्।

२०७४ सालको निर्वाचनमा यहाँबाट नेपाली कांग्रेस कृष्णप्रसाद बर्मा अध्यक्षमा निर्वाचित भएका थिए। गएको वर्ष असार २० गते उनको निधन भएको थियो।

अध्यक्षमा निर्वाचित यादव पूर्वसांसद शिवपुजन राय यादवका छोरा हुन्। उनी काठमाडौंमा बिबिएस पढिरहेका थिए। यसपालि उनलाई बुवा यादवले गाउँपालिका अध्यक्षको उम्मेदवारी दिलाएका थिए।

यस्तै  मतगणनाको सोमबार सर्वजनिक मत परिणामअनुसार प्रदेश नं. १ धनकुटा र ओखलढुंगा जिल्लाबाट दाजुभाइले नै गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् ।

दाजु जीतेन्द्र रुम्दाली(राई)ले धनकुटाको साँगुरीगढी गाउँपालिका र भाइ ज्ञानेन्द्र रुम्दालीले ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकाबाट जित हाँसिल गरेका छन् । जीतेन्द्र र ज्ञानेन्द्र आफ्नै दाजुभाइ हुन् ।

ज्ञानेन्द्रले कांग्रेसको सर्मथनमा स्वतन्त्र उम्मेदवारी दिएर अध्यक्षमा विजय हासिल गरेका हुन् । उनले एमालेका रुपलाल तामाङलाई १ हजार २ सय ६ मतान्तरले जितेका छन् । ज्ञानेन्द्रले ५ हजार २१ मत ल्याउँदा एमालेका तामाङले ३ हजार ८ सय १५ मत प्राप्त गरेका हुन् ।

गठबन्धनको तर्फबाट धनकुटाको साँगुरीगढी गाउँपालिकामा कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका जीतेन्द्रले ५ हजार ३ सय ९९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का कुमारजंग याखाले ४ हजार ८ सय २८ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

‘हामी दाजुभाइले नै जित्यौं‚’ साँगुरीगढीबाट विजयी भएका जीतेन्द्रले भने, ‘भाइले ओखलढुंगाबाट जित्यो ।’ दुई आमाका ५ दाजुभाइ पछिल्लो समय सबै राजनीतिमै सक्रिय रहेको उनले बताए ।

दाजुभाइले नै गाउँपालिका अध्यक्ष जितिरहँदा उनीहरूकै दाजु राजकुमार रुम्दाली पनि मानेभन्ज्याङ गाउँपालिका १ को वडाध्यक्षमा विजयी भएका छन् । नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएर उनले मानेभन्ज्याङ गाउँपालिकामा जित हाँसिल गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस