Latest News

भरतपुरमा रेनु र विजयको कडा टक्कर चल्दाचल्दै जगन्नाथको दमदार ‘ईन्ट्री’, कसको मत कति ?

Nepalese Times May 16, 2022 (1 Year ago)    979 Views

काठमाडौं ।  भरतपुर महानगरपालिका प्रमुखमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रतालाई फराकिलो पार्दै गएका छन् । १३ हजार ३६४ मत गनिसक्दा सुवेदीले ४ हजार ५५० मत पाएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ४ हजार ४९५ मत पाएकी छन् । दाहालसँग सुवेदीले ५५ मतको अग्रता बनाएका हुन् । यसअघि सार्वजनिक परिणाममा दाहाल र सुवेदीबीचको मतान्तर ३८ थियो ।

महानगर प्रमुखमै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार ९९८ मत पाएका छन् । अघिल्लोपटक एमालेका मेयर उम्मेदवारलाई आएको मत भुइँकटहर चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेका जगन्नाथ पौडेललाई गएको छ ।

२०७४ मा वडा नं. १, २ र ३ गरेर देवी ज्ञवालीले झण्डै १३०० मतको अग्रता रेनु माथि कायम गरेका थिए । तर, वडा नं. ३ को यसपटकको गणना सकिदा उनीहरु बीचको अन्तर खासै छैन । मतान्तर कम हुनु एमालेका लागि टाउको दुःखाइको विषय बनेको एमालेका नेताहरु बताउँछन् ।

वडा नं. २ र ३ बाट जुन अनुपातको अग्रताको अपेक्षा एमालेले गरेको थियो सो अनुरुप भएन । एमालेका वडा अध्यक्षहरुले पाएको मत मेयरका उम्मेदवार विजय सुवेदीलाई गएको पाइएको छैन ।

माओवादीका लागि जगन्नाथको प्रभाव बढी देखिदै जानु अर्को चिन्ताको विषय छ । २०७४ मा एमालेका देवी ज्ञवालीले लिएको अग्रताभन्दा बढी मत जगन्नाथले पाएका छन् । जगन्नाथको प्रभाव अब अझै बढेर जाने अनुमान छ ।

यस्तै, उपमेयरमा नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ५ हजार ३१३ र राप्रपाकी हिमला गुरुङले ३ हजार ६२२ मत पाएका छन् ।

वडा नं. ४ कांग्रेस बागी उम्मेदवार जगन्नाथ पौडेलकै समर्थक मिना खरेलको वडा हो । उनलाई कांग्रेसले जगन्नाथको समर्थक बसेको भनेर कारवाही गरेको छ । महिला तथा बालबालिकाको क्षेत्रमा क्रियाशील मिनाको प्रभाव वडा नं. ४ मा बढी छ । त्यसैले सत्ता गठबन्धनका लागि वडा नं. ४ पनि त्यति सन्तोषजनक नतिजा नआउने अनुमान छ । जगन्नाथले जति बढी कांग्रेसको मत काट्छन् उति नै एमालेका लागि सहज हुनेछ । त्यसकारण, एमाले र सत्ता गठबन्धनको जित कांग्रेसबाट काटिने मत र कांग्रेसबाट पाउने मतमा निर्भर रहनेछ ।

भरतपुर महानगरपालिकाका वडा नं. ५, ६, ७ र ८ कांग्रेसको बाहुल्य भएका वडाहरु हुन् । अघिल्लो चुनावमा एमालेले वडा नं. ५ र ७ मा थोरै मतले जितेको थियो । वडा नंं ७ सत्ता गठबन्धनका तर्फबाट समाजवादीले पाएको छ ।

वडा नं. ६ मा अघिल्लो पटक रेनु दाहालले अधिक मत पाएर देवीसँगको मतान्तर घटाएकी थिइन् । यसपटक पनि बढी मत पाउने आशा उनको छ । तर, यहाँबाट यसपटक धेरै भोट जगन्नाथ पौडेललाई पर्ने अनुमान छ । किनकि वडा नं. ७ कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलको वडा हो ।

वडा नं. १४, १५ र १७ मा समेत जगन्नाथको प्रभाव छ । वडा नं. १८, १९, २०, २१ र २६ पनि कांग्रेसको प्रभाव भएका वडा हुन् । वडा नं. ९, १०, ११ र १२ एमालेको प्रभाव क्षेत्र मानिन्छन् । वडा नं. १३ माओवादी केन्द्रको प्रभाव भएको वडा हो । २०७४ को चुनावमा वडा नम्बर १३ मा माओवादी केन्द्रले क्लिन स्वीप गरेको थियो ।

वडा नं. २२, २३, २४ र २५ मा सत्ता गठबन्धन र एमालेबीच नै प्रतिस्पर्धा छ । वडा नं. २३, २४, २५, २७ र २८ मा राप्रपाको समेत प्रभाव छ । राप्रपाले एमालेलाई मत दिएको खण्डमा रेनुका लागि असहज हुन सक्ने विश्लेषण गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस