Latest News

काठमाण्डौ महानगरपालिका २ मा पनि एमालेको प्यानलै विजयी

Nepalese Times May 16, 2022 (1 Year ago)    544 Views

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । वडाध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठससहित प्यानलै विजयी भएको हो ।

श्रेष्ठ १ हजार ३ सय ७७ मतसहित विजयी भएका हुन् । श्रेष्ठले नेपाली कांग्रेसका सूर्यलाल महर्जनलाई पराजित गरेका हुन् ।महिला सदस्यमा पूर्णलक्ष्मी रजत १ हजार २ सय ५५ मतसहित विजयी भए भने दलित महिला सदस्यमा ईश्वरी परियार १ हजार ३ सय १७ मतसहित विजयी भए ।

यस्तै दुई जना सदस्यमा पदमकाजी महर्जन १ हजार १ सय ७४ र विमला गुरुङ १ हजार १ सय ६२ मतसहित विजयी भएका छन् ।

देशभर मतगणना भइरहँदा सबैको ध्यान काठमाडौँ महानगरपालिकाले तानेको छ । यसको मुख्य कारण हो- स्थापित दललाई विस्थापित गर्न अग्रसर मेयरका लौरोधारी उम्मेदवार बालेन्द्र शाह (बालेन) ।

पेसाले इन्जिनियर र र्‍यापर बालेन काठमाडौँ महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएसँगै एकाएक चर्चामा आए । चुनावका लागि ‘लौरो’ चुनाव चिह्न पाए । र, त्यही लौरोले अहिले जादू देखाइरहेको छ ।

उनले स्थापित दलका उम्मेदवारहरूलाई मात ख्याइरहेका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितलाई दोब्बर मतले पछाडि पारेका छन् । केही बेरअघि सार्वजनिक मत परिणामअनुसार बालेन ६ हजार ८ सय ८६ मतसहित अग्र स्थानमा छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी स्थापितले ३ हजार ९ मत प्राप्त गरेका छन् । सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २ हजार ६ सय ५७ मत प्राप्त गरेकी छन् ।

बालेनलाई भोट दिने मतदाता तथा समर्थकहरू उनले जित्नेमा ढुक्क छन् । तर काठमाडौँ महानगरको अन्तिम नतिजा आउन अझै केही दिन लाग्‍छ । देशको राजधानी काठमाडौँ मात्र होइन, दुर्गम क्षेत्र मानिने रोल्पामा पनि लौरोको चर्चा छ ।

रोल्पाको सुनिल स्मृति गाउँपालिका वडा नं २ को वडाध्यक्ष पदमा लौरो चुनाव चिह्नधारी नेत्रबहादुर गिरी विजयी भएका छन् । गिरीले कांग्रेस–एमाले गठबन्धन र एमालेका उम्मेदवारलाई हराएका थिए । उनले ४ सय ३९ मत पाउँदा कांग्रेसका उम्मेदवारले ३ सय ९९ मत पाएका थिए भने माओवादी केन्द्रका उम्मेदवारले ३ सय ४७ मत पाएका थिए ।

लौरो चुनाव चिह्न पाएर जित हासिल गर्ने अर्का स्वतन्त्र उम्मेदवार हुन्, काठमाडौँको जयराम महत । महत काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नं ४ को वडाअध्यक्षमा निर्वाचित भएका छन् । काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा लौरो चुनाव चिह्नबाट स्वतन्त्र उम्मेदवार जयराम महत विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस