Latest News

भरतपुरको मेयरमा एमालेका सुवेदीले बढाए अग्रता, कसको मत कति ?

Nepalese Times May 16, 2022 (1 Year ago)    542 Views

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३७ मतले अघि बढेका छन् ।

पछिल्लो मत परिणाम अनुसार सुवेदीले ४ हजार १८१ मत पाएका छन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा माओवादीकी रेनु दाहालले ४ हजार १४४ मत पाएकी छिन् ।

कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ७५३ मत ल्याएका छन् । उपमेयरमा कांग्रेसका उम्मेदवारको अग्रता छ । दाहाल गठबन्धनतर्फकी उम्मेदवार हुन् भने सुवेदीलाई राप्रपाले सघाएको छ ।

भरतपुर महानगरमा एक लाख २७ हजार ८ सय ३९ मत खसेको छ । यो महानगरमा १ लाख ८५ हजार ७ सय ५२ मतदाता रहेका थिए । यहाँ ६८ दशमलव ८० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

चर्चाको केन्द्रमा रहेको भरतपुर महानगरपालिकाको मयर पद कसले हत्याउला भन्ने आम चासो रहेको छ । सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार रहेकी रेनु दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरीसमेत रहेकोले पनि यो महानगरपालिकालाई चासोको रुपमा हेरिएको छ ।

भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट दाहाल साझा उम्मेदवारको रुपमा रहेपनि नेपाली कांग्रेसको असन्तुष्ट समूहले जगन्नाथ पौडेललाई बागी उम्मेदवार बनाएको छ । उनको उम्मेदवारीका कारण पनि यो महानगरपालिका चर्चामा रहेको छ ।

यस्तै काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले दोब्बर मतको अग्रता हासिल गरेका छन् । मतगणनामा बालेनले ३८३४ मत ल्याउँदा नेकपा एमालेका केशव स्थापितले १९९६ मत ल्याएका छन् ।

मतगणनाको प्रारम्भदेखि नै अग्रता लिएका बालेनले क्रमशः अन्तर बढाइरहेका छन् । तेस्रो स्थानमा रहेकी गठबन्धनकी उम्मेदवार सिर्जना सिंहले १८०२ मत प्राप्त गरेकी छिन् । अहिले काठमाडौंको १, २, ३, ४, ३१ र ३२ नम्बर वडाको मतगणना भइरहेको छ ।

मतगणना स्थलमा खटिएका नेपाली कांग्रेस र एमालेका दलीय प्रतिनिधिहरु प्रारम्भिक मत गणनाको नतिजामा मेयर पदमा खसेको मतका कारण निराश देखिन्छन् ।

काठमाडौं मेयर पदमा अहिल्यै बालेनले जित्छन् भन्न सकिने अवस्था नरहे पनि मतदाताले हालेको भोटको शैलीले आफ्नो उम्मेदवारको जितलाई कठिन देखाएको एक प्रतिनिधिले बताए ।

प्रतिक्रिया दिनुहोस