Latest News

एमालेले ‘क्लिन स्विप’ गरेको दुई पालिकामा कांग्रेस विजयी, कसले कति मत ल्याए ?

Nepalese Times May 16, 2022 (1 Year ago)    711 Views

काठमाडौं । अघिल्लो स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले ‘क्लिन स्विप’ गरेको धनकुटाका दुई पालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ। निर्वाचन आयोगका अनुसार धनकुटाको छथर जोरपाटी गाउँपालिका र सागुरीगढी गाउँपालिकामा नेपाली कांग्रेसले जित हात पारेको हो ।

छथर जोरपाटी गाउँपालिकामा नेपाली कांग्रेसका छत्रबहादुर सुब्बा ४ हजार ३५९ मतसहित विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका शेर बहादुर लिम्बुले ४ हजार १६४ मत प्राप्त गरे। उपाध्यक्षमा पनि गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी गीता गुरुङ विजयी भएकी छिन्। उनले एमालेकी गोमा कार्कीलाई पराजित गरेकी हुन्।

त्यस्तै सागुरीगढी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका जितेन्द्र राई ५ हजार ३९९ मतका साथ विजयी भएका छन्। उनका प्रतिस्पर्धी एमालेका कुमारजंग याखाले ४ हजार ८२८ मत प्राप्त गरे। उपाध्यक्षमा भने एमालेकी मुना राई विजयी भइन्।

उनले जनता समाजवादी पार्टीका लिलाराज लावतीलाई पराजित गरेकी हुन्। धनकुटाको चौबिसे गाउँपालिकामा भने नेकपा एमाले विजयी भएको छ।त्यस्तै अछामको कमलबजार नगरपालिकको प्रमुखमा नेपाली कांग्रेसले जित हात पारेको छ।नेपाली कांग्रेसका उम्मेदवार यज्ञप्रसाद ढकाल ४ हजार २ सय ८८ मत ल्याएर प्रमुख पदमा विजयी भए।

ढकालका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका कटकबहादुर साउदले ४ हजार ६४ मत ल्याए। उपमेयरमा नेकपा एमालेकी शारदाकुमार बिष्टले जित हात पारिन्। विष्टले ४ हजार ५२८ मत ल्याएर उपमेयरमा जित हात पारेकी हुन्।

उनले नेपाली कांग्रेसकी गौरी भण्डारीलाई पराजित गर्दै उपमेयरमा जित हात पारेकी हुन्। भण्डारीले ३ हजार ६४८ मत ल्याइन्।त्यस्तै चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसका उम्मेदवार मनोज रानाभाट वडाध्यक्षमा विजयी भएका हुन्।

उनले २ हजार १०५ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण केसीले २ हजार ५८ मत प्राप्त गरेका छन्।भरतपुरमा अहिलेसम्म कुल ८ हजार ८५ मतपत्रको गणना सम्पन्न हुँदा रेनुले २ हजार ९१८ मत पाएकी छन्। उनको निकटतम प्रतिद्वन्द्वी एमालेका विजयले २ हजार ९१५ मत ल्याएका छन्।

यसअघि राति सवा १० बजे सर्वाजनिक मतपरिणाम अनुसार विजय १० मतले अगाडि थिए। नेपाली कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ९२४ मत प्राप्त गरेका छन्।

महानगरको उपप्रमुखमा भने गठबन्धनका चित्रसेन अधिकारी अगाडि छन्। उनले ३ हजार १९६ मत ल्याएका छन्। उनलाई राप्रपाका हिमला गुरुङ २ हजार ३१६ मतले पछ्याइरहेकी छन्।

प्रतिक्रिया दिनुहोस