Latest News

हेटौंडामा राप्रपा उम्मेदवारको दमदार ‘ईन्ट्री’, एकीकृत समाजवादीलाई उछिन्यो

Nepalese Times May 15, 2022 (1 Year ago)    633 Views

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले नेकपा एकीकृत समाजवादीलाई पछि पारेको छ ।

राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले एकीकृत समाजवादीकी मीना लामालाई पछि पार्दै अघि बढेका छन् । सिंहले २ हजार ७१० मत ल्याउँदा लामाले २ हजार ६६९ मत ल्याएका छन् ।

तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले २ हजार ४३४ मत पाएका छन् । उपमेयरमा भने नेपाली कांग्रेसले अग्रता बनाएको छ ।

कांग्रेसका तर्फबाट उपमेयर उम्मेदवार राजेश बानियाँले ३ हजार ९८२ मत पाएका छन् भने उनलाई एमालेका सुमित्रा काफ्लेले ३ हजार १६ मतका साथ पछ्याइरहेकी छन् । राप्रपाकी इन्दिरा न्यौपानेले ८०३ मत ल्याएकी छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विभिन्न स्थानीय तहअन्तर्गतका वडाहरूमा हालसम्म १८ वडामा विजयी भएको छ । अहिलेसम्मको मतपरिणामअनुसार राप्रपाले देशभरका विभिन्न पालिकाका १९ वटा वडामा विजयी भएको हो ।

त्यस्तै राप्रपाले केही पालिकामा अग्रता बनाएको छ भने केही पालिकामा कडा प्रतिस्पर्धा गरिरहेको छ ।

चितवनको माडी नगरपालिका ८ को वडा अध्यक्षमा राप्रपाका वीरेन्द्र भण्डारी र प्यानल निर्वाचित भएका छन् भने नवलपरासीको रामग्राम-३ को वडा ध्यक्षमा उज्ज्वल न्यौपाने र प्यानल पनि निर्वाचित भएको छ ।

यस्तै नवलपरासीकै प्रतापपुर-३ को वडा अध्यक्षमा राप्रपाका रामनरेश यादव र प्यानल निर्वाचित भए भने कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका ५ मा अध्यक्ष केशव खत्री र प्यानल निर्वाचित भए ।

यस्तै कपिलवस्तुको कृष्णनगरमा १ मा राप्रपाबाट अध्यक्ष टुङ्गनाथ चौधरीको प्यानलसहित निर्वाचित भयो भने सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका १ मा अध्यक्ष लक्ष्मण मेहता र प्यानल निर्वाचित भयो ।

यस्तै रुपन्देहीको रोहिणी गाउँपालिका १ को अध्यक्ष पदमा अलि पठान (मुक्त्तर अहमद पठान)को प्यानल निर्वाचित भएको छ । चितवनको माडी नगरपालिका १ को अध्यक्ष पदमा अमित लामा र प्यानल निर्वाचित भएको छ ।

सिद्धार्थनगर नगरपालिका २ को अध्यक्ष पदमा छेदीलाल श्रीवास्तवलगायत प्यानल निर्वाचित भएको छ भने नवलपरासी, रामग्राम १ को अध्यक्षमा राप्रपाका रुद्रप्रसाद सिंहलगायत प्यानल निर्वाचित भएको छ ।

डोटीको के.आई. सिंह गाउँपालिका ७ को अध्यक्षमा दिलबहादुर बलायरको प्यानल नै निर्वाचित भएको छ भने  बैतडीको सुर्नया गाउँपालिका २ मा गणेशबहादुर विष्टको प्यानल नै निर्वाचित भएको राप्रपाले जनाएको छ ।

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ७ का अध्यक्ष उमेश कार्की र प्यानल निर्वाचित हुन सफल भएको छ भने धादिङको खनियाबास गाउँपालिका १ वडाध्यक्षमा राप्रपाका सोनाम तामाङ विजयी भएका छन् ।

रुपहेन्दीको ओमसतिया बेलबहादुर बरालसहित प्यानल विजयी भएको छ भने कञ्चनपुरको दोधारा चाँदनी १ को वडाध्यक्ष विक्रम चन्दसहित प्यानल विजयी भएको छ ।

 धादिङको खनियाबास २ मा अध्यक्ष अरुण तामाङ प्यानलसहित विजयी भएका छन् भने रुपन्देहीको सियारी गाउँपालिका १ मा अध्यक्ष अरुण शाहीको प्यानल नै विजयी भएको छ ।

यस्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको वडा (झापाको हल्दिबारी १) मा राप्रपाको वडाध्यक्ष देवी थापासहित प्यानल निर्वाचित हुँदा गाउँपालिका अध्यक्षमा रवीन्द्र लिङ्देनको अग्रता कायम रहेको छ ।

प्रतिक्रिया दिनुहोस