Latest News

मनाङ र मुस्ताङका सबै ठाउँको नतिजा सार्वजनिक, कसले कुन–कुन पालिका कसले जित्यो ? (सूचीसहित)

Nepalese Times May 15, 2022 (1 Year ago)    551 Views

काठमाडौं । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन अन्तर्गत मनाङ र मुस्ताङबाट सबै नतिजा सार्वजनिक भएको छ ।

मनाङमा ४ र मुस्ताङमा ५ वटा गाउँपालिका छन्। मनाङमा ४ गाउँपालिकामध्ये २ वटा नेकपा एमाले र २ वटामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मुस्ताङको ५ गाउँपालिकामध्ये ४ वटा एमाले र एउटा कांग्रेसले जितेको छ।

नेकपा एमालेले मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा एमालेका कान्छा घले अध्यक्ष पदमा विजयी भएका छन्। उनले कांग्रेसका छिरिङ ओङमा गुरुलाई हराएका हुन्। २०७४ सालमा पनि एमालेका मिङमार गुरुङ गाउँपालिका अध्यक्षमा विजयी भएका थिए।

त्यस्तै मनाङको चामे गाउँपालिकामा एमालेका लोकेन्द्रबहादुर घले अध्यक्ष पदमा विजयी भएका हुन्। उनले कांग्रेसका छिरिङ ध्वर्जे लामालाई हराएका हुन्। २०७४ मा पनि घलेले गाउँपालिका अध्यक्ष जितेका थिए।

नेपाली कांग्रेसले मनाङको नार्पाभूमि गाँउपालिकामा जित हात पारेको छ। कांग्रेसका कोन्जो तेन्जीङ लामा गाउँपालिका अध्यक्ष पदमा विजयी भएका छन्। उनले स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामालाई हराएका हुन्।

मनाङको अर्को गाउँपालिका नासोँमा नेपाली कांग्रेसका धनबहादुर गुरुङ विजयी भएका छन्। उनले एमालेका मनबहादुर गुरुङलाई हराएका हुन्। २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा पनि नेपाली कांग्रेसका चन्द्र घले गाउँपालिका अध्यक्षमा विजयी भएका थिए। त्यति बेला पनि एमालेबाट उठेका मनबहादुर पराजित भएका थिए।

मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेका लोप्साङ छोम्पेल विष्ट विजयी भएका छन्। उनले एकीकृत समाजवादीका देवबहादुर गुरुङलाई हराएका हुन्। विष्ट २०७४ सालमा स्वतन्त्र उठेका थिए। उनले त्यति बेला कांग्रेसका उम्मेदवारलाई हराएका थिए।

मुस्ताङकै वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्षमा रिङजिन नामगेल गुरूङ विजयी भएका छन्। उनले कांग्रेसका आङजेन गुरुङलाई हराएका हुन्। २०७४ सालमा वारागुङ मुक्तिक्षेत्रमा नेकपा एमालेकै रमेश गुरुङ विजयी भएका थिए।

मुस्ताङको लोमान्थाङ गाउँपालिकामा पनि यसपटक नेकपा एमालेका टसी न्वर्वु गुरूङ विजयी भएका छन्। उनले कांग्रेसका टसी गुरुङलाई पराजित गरेका हुन्। २०७४ मा लोमान्थाङमा कांग्रेसका सुवर्णकुमार बिष्ट विजयी भएका थिए।

त्यस्तै मुस्ताङको थसाङ गाउँपालिकामा पनि नेकपा एमालेका प्रदीप गौचन अध्यक्ष पदमा विजयी भएका छन्। उनले कांग्रेसका बालकुमारी शेरचनलाई पराजित गरेका हुन्। २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका बुद्धिप्रसाद भट्टचनले गाउँपालिका अध्यक्ष जितेका थिए।

मुस्ताङको घरपझोङ गाउँपालिकामा मात्र नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। कांग्रेसका मोहनसिंह लालचन अध्यक्ष पदमा विजयी भएका हुन्। उनले एमालेका सञ्जयकुमार थकालीलाई हराएका हुन्। अघिल्लोपटक एमालेका आसबहादुर थकालीले गाउँपालिका अध्यक्ष पदमा जित हात पारेका थिए।

प्रतिक्रिया दिनुहोस