Latest News

कांग्रेसकी मिना बनिन् पहिलो महिला गाउँपालिका अध्यक्ष, उपाध्यक्ष पनि कांग्रेसले नै जित्यो

Nepalese Times May 15, 2022 (1 Year ago)    2698 Views

काठमाडौं । सोलुखुम्बुको लिखुपिके गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसकी मिना कार्की विजयी भएकी छिन् । अध्यक्षका निर्वाचित मिनाले १२६० मत ल्याइन् । उपाध्यक्षमा पनि कांग्रेसकै ङवाङल्हाक्पा शेर्पा विजयी भएका छन् । शेर्पाले १४११ मत ल्याए ।

निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका अध्यक्ष उम्मेदवार डम्बर बस्नेतले १११३ र उपाध्यक्ष उम्मेदवार प्रमिला बस्नेत कार्कीले ८६७ मत ल्याए ।अहिलेसम्म गणना सकिएका स्थानीय तहको परिणामअनुसार प्रमुखमा विजयी हुने मिना एकमात्र महिला उम्मेदवार हुन् ।

यस्तै सोलुखुम्बुको महाँकुलुङ गाउँपालिका वडा नम्बर ४ मा नेकपा एमालेकी उम्मेदवार सरस्वती कुलुङ विजयी भएकी छन् । उनी सोलुखुम्बुको पहिलो महिला वडाध्यक्ष हुन् ।

९०४ मत खसेको वडामा ३१८ मत प्राप्त कुलुङ निर्वाचित भएको निर्वाचन अधिकृत टेकनाथ अधिकारीले जानकारी दिए । निकटतम प्रतिद्वन्द्धी नेपाली कांग्रेसका उमेदवारले २७९ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका उमेदवारले २७४ मत प्रप्त गरेका छन् ।

स्थानीय तहको निर्वाचनको नतिजा आउने क्रम जारी रहेको छ। उच्च हिमाली र पहाडी क्षेत्रका पालिकाहरूको नतिजा आइरहेका छन्।अहिलेसम्म ३० स्थानीय तहको परिणाम आएकोमा नेपाली कांग्रेसले ३ वटा स्थानीय तह गुमाएको छ भने माओवादी केन्द्रले २ वटा थपेको छ। एमालेले १ स्थानीय तह थपेको छ।

नेकपा एमालेले अहिलेसम्म १३ स्थानीय तह जितेको छ। नेपाली कांग्रेसले ९ स्थानीय तह जितेको छ भने माओवादी केन्द्रले ६ वटा जितेको छ। नेकपा एकीकृत समाजवादीले २ वटा जितेको छ।

अहिलेसम्मको नतिजामा नेकपा एमालेले जितेका १३ स्थानीय तहमध्ये पाँचवटा उसले यसपटक कांग्रेसबाट खोसेको छ। अघिल्लोपटक कांग्रेसले जितेका मुस्ताङको लोमान्थाङ र थासाङ एमालेले जितेको छ।

त्यस्तै बझाङको साइपाल, नवलपुरको बौदीकाली र म्याग्दीको मालिका गाउँपालिकामा एमालेले जितेको छ। तर उसले २ वटा गाउँपालिका कांग्रेससँग गुमाएको छ भने एउटा माओवादी केन्द्र र एउटा एकीकृत समाजवादीसँग गुमाएको छ।

एमालेले आफूले जितेको मनाङको मनाङ डिस्याङ, चामे, मुस्ताङको लो घेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र, डोल्पाको शे फोक्सुन्डो मुक्तिक्षेत्र, सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु, बझाङको थलारा र तेह्रथुमको मेन्छ्याममा यसपटक पनि जित हात पारेको छ। एमालेले माओवादी केन्द्रले जितेको कुनैपनि स्थानीय तह खोस्न सकेको छैन।

नेपाली कांग्रेसले अहिलेसम्म जित हात पारेको ९ स्थानीय तह मध्ये अघिल्लोपटक जितेका ७ स्थानीय तह बचाएको छ। दुई वटा एमालेले जितेको स्थानीय तह खोसेको छ।

अघिल्लोपटक एमालेले जितेको मुस्ताङको घरपोझङ र गुल्मीको रेसुङ्गा नगरपालिकामा कांग्रेसले जित हात पारेको छ। तर उसले अघिल्लोपटक जितेका ५ गाउँपालिका एमालेसँग गुमाएको छ भने माओवादीसँग एउटा गुमाएको छ।

कांग्रेसले यसअघि आफूले जितेको मनाङको नार्पा भूमी, मनाङको नासो, डडेल्धुराको गन्यापधुरा, गुल्मीको गुल्मीदरबार, डोटीको बडीकेदार, हुम्लाको खार्पुनाथ र बाग्लुङको तमानखोलामा जित हात पारेको छ। कांग्रेसले पनि माओवादी केन्द्रबाट कुनैपनि स्थानीय तह खोस्न सकेको छैन।

नेकपा माओवादी केन्द्रले अघिल्लोपटक जितेको ४ वटा स्थानीय तह जितेको छ। उसले यसपटक कांग्रेसबाट एउटा र एमालेबाट एउटा स्थानीय तह खोसेको छ। माओवादी केन्द्रले एकीकृत समाजवादीसँग गठबन्धन गरेर दैलेखको नौमुले गाउँपालिमा जित हात पारेको छ। त्यहाँ उपाध्यक्ष एकीकृत समाजवादीले जितेको छ। त्यहाँ अघिल्लोपटक कांग्रेस विजयी भएको थियो।

प्रतिक्रिया दिनुहोस