Latest News

काठमाडौं महानगर : बालेनले ३५ सय मत कटाए, अरु कसको कति ?

Nepalese Times May 15, 2022 (1 Year ago)    759 Views

काठमाडौं । काठमाडौं महानगरपालिकाको मत गणना अहिले चलिरहेको छ । ताजा मत परिणाम अनुसार झण्डै दोब्बर मतले बालेन शाह अगाडि छ ।

साहले पछिल्लो मतपरिणाम अनुसार ३५३२ मत पाएका छन् । उनका प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १८५६ मत पाएका छन् । कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले भने १६६८ मत पाएका छन् ।

मतगणना स्थलमा खटिएका नेपाली कांग्रेस र एमालेका दलीय प्रतिनिधिहरु प्रारम्भिक मत गणनाको नतिजामा मेयर पदमा खसेको मतका कारण निराश देखिन्छन् ।

काठमाडौं मेयर पदमा अहिल्यै बालेनले जित्छन् भन्न सकिने अवस्था नरहे पनि मतदाताले हालेको भोटको शैलीले आफ्नो उम्मेदवारको जितलाई कठिन देखाएको एक प्रतिनिधिले बताए ।

मतगणनास्थलमा हेरिएको मतपत्रअनुसार मेयरको भोट जसरी पनि लौरोमै हाल्नुपर्छ भन्ने ट्रेण्ड देखिएको एमालेका ति प्रतिनिधिको भनाइ छ । ‘हामीले सात सूर्य सात छाप भनेर मतदातालई सिकाएका हौं,’ उनी भन्छन् ‘ ब्यालेटको मतमा एक छाप लौरो ६ छाप सूर्य देखिन्छ ।’ आफ्नो पार्टीको भित्री मतदाता रहेको भनि गरिएको आकलन र टोलबाट समेत मेयर पदमा लौरोमा मात्रै एउटा मत खसाएको पाइएको ती प्रतिनिधिको भनाइ छ ।

एमालेको जस्तै दुःख ब्यालेटमा नेपाली कांग्रेसलाई पनि छ । गणना भएका वडाहरुमा तेस्रो स्थानमा कांग्रेसी मत देखिनुले गठबन्धनले काम नगरे जस्तो पाइएको नेपाली कांग्रेसका एक प्रतिनिधिले बताए । उनको भनाइमा कांग्रेसी कार्यकर्ताले मत माग्दै मेयरको मत बालेनका लागि मागेको जस्तो देखिएको छ ।

‘मत गणना भएका वडाहरुमा वडा अध्यक्ष पदमा एमालेसंग तिब्र प्रतस्पर्धा छ तर मेयर पदमा एउटा भोट अनिवार्य जस्तै गरेर लौरोमा हालिएको छ,’ ती प्रतिनिधि भन्छन् ‘एक भोट बालेनका लागि र बाँकी भोट कांग्रेसलाई माया गरेर पार्टीका लागि हालेको जस्तो देखिन्छ ।’

मत गणना स्थलमा देखिएको दृश्यअनुसार काठमाडौं महानगर पालिकामा बदर मतको संख्या धेरै हुने आकलन गरिएको छ । हरेक वडामा भएको मतदानमा दल र स्वतन्त्र उम्मेदवार बालेन साह दुबैलाई मत हाल्न खोजेका कारण बदर मतको संख्या उच्च छ ।

एमाले, कांग्रेस र राप्रपाका लागि धेरै मतदान गरेका मतदाताले बालेनको लौरो चिन्हमा पनि मतदान गरेको स्थलगत रिपोर्टिङमा देखिको छ । मतदाताहरुले एक भोट लौरोमा, अर्को भोट पनि मेयरकै सूर्यमा खसाएका छन् ।

यस्तै एक भोट लौरोमा र अर्को भोट पनि मेयरको कांग्रेसमा खसाएका कारण बदर धेरै देखिएको छ । मतगणना स्थलमा खटिएका दलका प्रतिनिधिहरुका अनुसार वडा अध्यक्ष र सदस्यहरुमा लहरै मत हालिए पनि मेयर पदका लागि गरिने मतदानमा साह, स्थापित र सिंहलाई तीनवटैमा खसाउन खोज्दा धेरै मत बदर भएको छ ।

प्रतिक्रिया दिनुहोस