Latest News

मतगणना नसकिँदै मुख्य निर्वाचन अधिकृतले दिए राजीनामा, यस्तो छ कारण

Nepalese Times May 15, 2022 (1 Year ago)    573 Views

विराटनगर – उदयपुरका मुख्य निर्वाचन अधिकृत दिपक खनालले राजीनामा दिएका छन् । जिल्लामा पूणरूपमा मतगणना सुरु नहुँदै उनले स्वास्थ्य समस्याको कारण देखाएर राजीनामा दिएका हुन् ।

खनाल शनिबार अचानक बेहोस भएका थिए । उनले निर्वाचनको बाँकी काम गर्न नसक्ने भन्दै निर्वाचन आयोगमा राजीनामा पठाएको सहायक निर्वाचन अधिकृत दिलिप मगरले बताए ।उदयपुरको ९८ मतदानस्थलमध्ये त्रियुगा नगरपालिका वडा नम्बर १२ स्थित जनप्रेमी आधारभुत विद्यालय पुरानो गाईघाटमा मतदानको विवाद कायमै रहेको छ ।

विवादका कारण त्रियुगामा मतगणना सुरु हुन सकेको छैन । नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धनले त्रियुगा १२ मा पुन मतदानको माग गरिरहेका छन् भने कांग्रेस र एमालेले मतगणना गर्न माग गरेको जनाइएको छ ।

त्यसैगरी कटारी नगरपालिका-१० मा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि त्यहाँको समस्याले पनि उनी तनावमा रहेको जनाइएको छ ।

त्यस्तै भरतपुर महानगरपालिकाको मतगणना फेरि सुरु भएको छ। मतपत्र सदर र बदर गर्ने विषयमा एमाले प्रतिनिधिले अवरोध गरेपछि १५ मिनेट मतगणना प्रभावित भएको थियो।

‘सुरुमा मतपत्र सदर कि बदर गर्ने विषयमा विवाद सुरु भयो। तर मतपत्रमा स्वस्तिक छाप नै नदेखिएकाले सर्वसहमतिले बदर गर्ने निर्णय भयो,’ मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले भने। उनका अनुसार अहिले निर्वाधरुपमा मतगणना भइरहेको छ।

पछिल्लो मतपरिणाम अनुसार माओवादी केन्द्रका रेणु दाहाल ८० मतान्तरणले अगाडि छन्। ४ हजार ८७७ मत गणना हुँदा दाहालले १७ सय २७ मत प्राप्त गरेकी छन् भने उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले १६ सय ४७ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस