Latest News

स्थानीय तह निर्वाचन नजिकिएसंगै कांग्रेस सभापति देउवाले गरे मतदातालाई यस्तो अपिल

Nepalese Times May 10, 2022 (1 Year ago)    561 Views

काठमाडौं – प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा चुनाव चिह्न रुखमा मतदान गर्न अपिल गरेका छन् ।

देउवाले मंगलबार अपिल जारी गरी ‘अरू कुरा गर्छन्, हामी काम गर्छौँ’, ‘सबल स्थानीय सरकार : समुन्नत गाउँ, समुन्नत नगर’ कांग्रेसको मूल मन्त्र भएको भन्दै रुखमा मतदान गर्न मतदातालाई अपिल गरेका हुन् ।

कांग्रेसको नेतृत्वमा मुलुकमा अग्रगामी परिवर्तनमुखी सामाजिक र आर्थिक आन्दोलन र अभियान सम्पन्न भएको उनले उल्लेख गरेका छन् । संविधानलाई कुल्चेर पटक–पटक संसद् विघटन गरी अधिनायकवादी शैली प्रदर्शन गरेपश्चात् पाँचदलीय गठबन्धन बनेको उनको भनाइ छ ।

उनले यो निर्वाचनमा समेत गठबन्धनलाई निरन्तरता दिनुपर्ने अवस्था भएको स्पष्टीकरण दिएका छन् । स्थानीय तहलाई कानूनतः सबल र समृद्ध बनाउने प्रतिवद्धता पूरा गर्न काँग्रेस कसैसँग सम्झौता नगर्ने देउवाले बताए । तर नीति निर्माण र कानून बनाउने थलो संसदलाई बन्धक बनाएर राख्ने अराजनीतिक र अलोकतान्त्रिक क्रियाकलाप नै यसका बाधक भएको देउवाले बताए ।

संविधानलाई कुल्चेर जनादेशको घोर अपमान गरी पटक–पटक संसद विघटन गरेपछि काँग्रेसको नेतृत्वमा संविधानको अक्षरका लागि पाँच दलीय गठबन्धन बनेको उनको भनाइ छ । गठबन्धनको सरकारले कोभिड – १९ को नियन्त्रण गर्नुका साथ काठमाडौंबासीलाई मेलम्चीको पानी वितरण गरिएको बताए । ‘नेपाली कांग्रेस जे भन्छ, त्यो पूरा गर्छ, मतदातालाई खोक्रो नारा र सस्तो लोकप्रियताको भ्रममा पार्दैन भन्ने प्रमाणित गरेको छ,’विज्ञप्तिमा उल्लेख छ ।

काँग्रेस आम नेपाली नागरिकको ढुकढुकी हो भन्दै देउवाले ‘सबल स्थानीय सरकार: समुन्नत गाउँ, समुन्नत नगर’ काँग्रेसको मूलमन्त्र भएको बताए । देउवाले भने, ‘अरु कुरा गर्छन्, हामी काम गर्छौं’ । ‘सबल स्थानीय सरकार: समुन्नत गाउँ, समुन्नत नगर’ हाम्रो मूलमन्त्र हो ।’

यस्तै एमसीसी पारित भएसँगै पूर्वाधार विकासमा अन्तर्राष्ट्रिय सहयोग र लगानीका थप सम्भावनाका ढोका खुलेको देउवाको दाबी छ ।

प्रतिक्रिया दिनुहोस