धादिङ । धादिङको ज्वालामूखी गाउँपालिका नेपाली कांग्रेस पार्टी सभापति रेशमलाल काप्रीमाथि वनको रकम हिनामिना गरेको आरोप लागेको छ । ज्वालामूखी गाउँपालिका-५ मा रहेको देविडाँडा सुकौरा सामूदायिक वनको अध्यक्ष रहेका उनले विगत ८/१० वर्षदेखि वनको हरहिसाबसमेत देखाउन सकेका छैनन् ।
हरहिसाब मात्रै होइन, उनले सामूदायिक वन समितिका सदस्यलाई राखेर नियमित बैठकसमेत बसाउन सकेका छैनन् । बैठक राख्दा हरहिसाबको कुरा आउने भएकोले यसबाट भाग्नका लागि वैठकसमेत नडाकिएको वन समितिका अरु सदस्यहरु बताउँछन् ।
सबैलाई जम्मा गरेर हरहिसाब सार्वजनिक हुन नसकेको स्वयं अध्यक्ष काप्रीलेसमेत स्वीकार गरेका छन् । नेप्लिज टाइम्ससँग कुरा गर्दै उनी भन्छन्, ‘केही वर्षदेखि वैठक बस्न नसकेको कुरा साँचो हो, विविध कारणले सबैजना जम्मा हुन नसक्ने अवस्थाका कारण यो समस्या भएको हो, मैले रकम हिनामिना गरेको आरोपमा सत्यता छैन ।’ यसबीचमा अध्यक्ष काप्रीले २०७२ सालको भूकम्पपछि पनि वनबाट सैयौँ क्युसेक काठ कटान गराएका थिए ।
सामूदायिक वनबाट अहिलेसम्म कति काठ कटान भयो, त्यसबापत कति रकम उठ्यो, कति रकम खर्च भयो, केही हरहिसाब सार्वजनिक गर्न नसक्दा उनीमाथि हिनामिनाको आरोप लागेको हो । देविडाँडा सुकौरा सामूदायीक वन ज्वालामूखी गाउँपालिका–५ मा रहेको छ । यो वनसँग ५७ घरधुरी उपभोक्ता आवद्ध रहेको अध्यक्ष काप्रीले बताए ।
मेरो गोजीमा साढे ७ हजार रुपैयाँ मात्रै छ – रेशमलाल
सामूदायीक वनको रकम हिनामिना गरेको आरोप खेपिरहेका देविडाँडा सामूदायीक वनका अध्यक्ष काप्री भने आफ्नो खल्तीमा वनको साढे ७ हजार रुपैयाँ मात्रै रहेको बताउँछन् । नेप्लिज टाइम्ससँग कुरा गर्दै उनले भने, ‘मसँग वनको पैसा सात हजार पाँच सय रुपैयाँ मात्रै छ, अरु पैसा गाउँकै बुढाहरुलाई सुम्पिएको छु ।’
उनको भनाइ अनुुसार उनले वनको पैसा सिताराम काप्रीलाई राख्न दिएका छन् । सिताराम काप्रीलाई २ लाख रुपैयाँ राख्न दिएको अध्यक्ष रेशमलालको भनाइ छ । तर, यसरी वनको अध्यक्षको हैसियतमा रहेको व्यक्तिले अरु पात्रलाई मनलाग्नी रकम राख्न दिन मिल्ने कि नमिल्ने भन्ने प्रश्नमा भने उनले जवाफ दिन सकेनन् । उनले ८/१० वर्षदेखि वनको औपचारिक मिटिङ बस्न नसकेको र प्रश्न उठ्न थालेपछि गाउँकै बुढाहरुलाई राखेर रकम सुम्पिएको बताउँछन् । तर उनले रकम सुम्पिएको प्रमाण भने उपलब्ध गराउन सकेनन् ।
अध्यक्ष काप्रीले देखाएको हरहिसाब
कांग्रेस ज्वालामूखीका पार्टी सभापतिसमेत रहेका सामूदायीक वनका अध्यक्ष काप्रीले नेप्लिज टाइम्सलाई केही हरहिसाबबारे जानकारी गराएका छन् ।
उनको भनाइ अनुसार यो समूदायिक वनको ५७ घरधुरी उपभोक्ता छन् । त्यसमध्ये ४३ घरधरीरले घर बनाउँदा यहि सामूदायिक वनको काठ प्रयोग गरेका छन् । उनीहरुबाट प्रतिक्युसेक ५० रुपैयाँको दरले ८८ हजार रुपैयाँ उठेको छ ।
छिमेकीलाई ३० क्युसेक काठ उपलब्ध गराईएको छ । त्यसबापत सामूदायिक वनले प्रतिक्युसेक १०० रुपैयाँको दरले ३ हजार रुपैयाँ रकम प्राप्त भएको छ । अध्यक्ष काप्रीले उपलब्ध गराएको यो हिसाबलाई मान्ने हो भने सामूदायीक वनको आम्दानी ९१ हजार रुपैयाँ मात्रै रहेको देखिन्छ ।
उनले नेप्लिज टाइम्सलाई खर्च विवरणबारेसमेत जानकारी गराएका छन् । उनले भनेअनुसार सामूदायिक वनको ८३ हजार ५ सय रुपैयाँ खार्च भएको छ । यो रकम के–के शीर्षकमा खर्च भएको भन्ने जिज्ञासामा उनी भन्छन्, ‘ट्रान्सफर्मर ३ पटक बिग्रियो, जहरे खेतमा पोल ल्याउँदा र काठ काट्ने मान्छेलाई ज्याला दिँदा खर्च भयो ।’
उनले बताएअनुसार काठ काट्ने मान्छेलाई ज्याला वापत ६ हजार ५ सय रुपैयाँ खर्च भएको छ । तर यो हिसाबमा विश्वास गर्न सकिने ठाउँ नरहेको र अध्यक्ष काप्रीले जानाजान झूट विवरण उपलब्ध गराएको देविडाँडा सामूदायीक वनका अरु सदस्य र उपभोक्ताको दाबी छ ।
सामूदायिक वनको नविकरण नै फेल
देविडाँडा सुकौरा सामूदायिक वनको नविकरणसमेत फेल भएको छ । ज्वालामूखी–५ मा रहेको यो सामूदायिक वनको अहिले नविकरणसमेत फेल भएर बसेको स्वयं अध्यक्ष काप्री स्वीकार गर्छन् ।
जानाजान सामूदायिक वनको नविकरण फेल गराएको र यहि आवणमा काठ तस्करीदेखि अरु थुप्रै अबैध गतिविधिहरु भइरहेको सामूदायिक वनका उपभोक्ता र समितिका सदस्यहरुको आरोप छ ।
नेप्लिज टाइम्ससँग कुरा गर्दै अध्यक्ष काप्री भन्छन्, – ‘वनको नविकरण फेल भएको कुरा साँचो हो, नविकरण नभएको केही वर्ष भयो, अब म तत्कालै प्रक्रियामा गएर यसलाई वैध बनाउँछु । यसलाई नविकरण गरेर अध्यक्षबाट राजीनामा दिने विचार गरेको छु ।’
वन ऐन २०४९, वन नियमावली २०५१ र सामूदायिक वनको निर्देशिका, २०५२ को अधिनमा रहेर सामूदायिक वन संचालन गर्नुपर्ने प्रावधान छ ।
रेशमलाल काप्री उनै व्यक्ति हुन् जसले सत्ता र शक्तिको दुरुपयोग गरेर ज्वालामूखी गाउँपालिकाबाट नियमभन्दा बाहिर कृषि अनुदान रकम बुझेकाे आरोपमा उनीमाथि अनुसन्धान भइरहेको छ । महालेखाले यो अनुदान रकमलाई अनियमित रकमको रुपमा राखेको छ । कांग्रेस ज्वालामूखी सभापति काप्रीले बुझेको कृषि अनुदान रकममाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेसमेत अनुसन्धान गरिरहेको छ ।
संवन्धित समाचार
कृषि अनुदान दुरुपयोग प्रकरण: ज्वालामूखी गाउँपालिकामाथि छानविन गर्ने अख्तियारको निर्णय
ज्वालामूखी गाउँपालिकामा कृषि अनुदान दूरुपयोग भएको भन्दै अख्तियारमा उजूरी दर्ता
ज्वालामूखीका उपाध्यक्षको स्पष्टीकरण – बेथितिको मतियार बनाउन खोजियो, भारी बोक्न सकिँदैन
ज्वालामूखीमा सत्तामै रहेको नेकपा एस पनि कांग्रेससँग रुष्ट, कृषि अनुदान दुरुपयोग भएको ठहर !
समाजवादी प्रेसका केन्द्रीय नेताले पनि बुझे ज्वालामूखीको कृषि अनुदान, महालेखाले उठायो प्रश्न
ज्वालामूखीमा बेथितिः कांग्रेसको पालिका सभापतिलाई १६ लाख कृषि अनुदान ! (प्रमाणसहित)
ज्वालामूखीले लुकाएको अर्को प्रमाण: कम्प्युटरको ‘सामान्य भाइरस’ हटाउँदा पनि लाखौँ अनियमित ?
ज्वालामूखी गाउँपालिकामा १८ लाख रुपैयाँ अनियमितता, कसको खल्तीमा कति ? (विवरणसहित)
ज्वालामुखीमा सरकारी मोटरसाईकलको दुरुपयोग, घाईते नाबालक अस्पतालमा, चालकलाई उन्मुक्ति
ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश
ज्वालामूखीमा अध्यक्षसहितको गतिविधि अवान्छित देखियो, तत्काल छानविन गरियोस – माओवादी
ज्वालामूखीमा भएको भनिएको भ्रष्टाचारको भण्डाफोर गरौँ – राष्ट्रिय स्वतन्त्र पार्टी
ज्वालामूखी गाउँपालिका भ्रष्टाचारी उत्पादन गर्ने कारखाना बन्यो, कडा प्रतिवाद गरौँ– एमाले