Latest News

ज्वालामूखीका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले कानुन विपरित रकम बुझेको खुलासा

Nepalese Times June 11, 2025 (2 Day ago)    2454 Views

धादिङ । धादिङको ज्वालामूखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनै र उपाध्यक्ष धर्म अर्याल नै भ्रष्टाचारजन्य गतिविधिमा संलग्न भएको खुलासा भएको छ । उनीहरुको यो प्रयासमा तत्कालिन प्रमुख प्रशासकीय अधिकृत सुमन पण्डीतलेसमेत साथ दिएका छन् ।

अध्यक्ष दनै नेपाली कांग्रेसबाट र उपाध्यक्ष अर्याल नेकपा एकीकृत समाजवादीबाट चुनाव जितेर आएकाहरु हुन् । यी दुई जनप्रतिनिधिले निर्वाचनको समयमा गठबन्धन गरेका थिए ।

तत्कालिन समयमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रलगायत दलबीच गठबन्धन भएको थियो । यो गठबन्धनबाट अध्यक्षमा दनै र उपाध्यक्षमा अर्याल निर्वाचित भएका थिए ।

उनीहरु जनतामाझ साझा प्रतिवद्धता बोकेर गएका थिए । विभिन्न कार्यक्रममा सँगसँगै देखिने गरेका उनीहरु भ्रष्टाचारजन्य गतिविधिमासमेत मिलेरै संलग्न हुने गरेको तथ्य भेटिएको हो ।

कानुन विपरित भत्ता
भ्रष्टाचारजन्य गतिविधिमा संलग्न हुनका लागि ठूलै रकम हुनुपर्छ भन्ने छैन । थोरै रकममा पनि भ्रष्टाचारको प्रयास हुन सक्छ । नियत नै खराब भएकाहरुले थोरै रकममाथिसमेत भ्रष्टाचारको प्रयास गर्न सक्छन् ।

२०८१ सालको जेठमा शसस्त्र प्रहरी वल विपद व्यवस्थापन तालीम शिक्षालय कुरिनटार चितवनमा ३ दिने प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको थियो ।

जेठ २ गतेदेखि ४ गतेसम्म ३ दिन संचालिन कार्यक्रमको अनुगमन गरेको भनेर ज्वालामूखी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाले नियम विपरित भत्ता रकम बुझेका हुन् ।

अध्यक्ष दनै, उपाध्यक्ष अर्याल र प्रमुख प्रशासकीय अधिकृत पण्डितसहित ७ जनाले बुझेको २३ हजार ८ सय रुपैयाँ रकमलाई महालेखाले अनियमित रकमको रुपमा राखिदिएको छ ।

गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत पण्डीतले यसरी भत्ताबापतको रकम बुझ्न कानुनले दिँदैन । महालेखाले भर्खरै सार्वजनिक गरेर आर्थिक वर्ष २०८०/८१ सालको वार्षिक प्रतिवेदन अनुसार अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रसासकीय अधिकृतसहित ७ जनाले बुझेको रकमलाई अनियमित रकमको रुपमा देख्न सकिन्छ । यो भ्रष्टाचारजन्य गतिविधि हो ।

कानुनले के भन्छ ?

अर्थमन्त्रालय अन्तर्गतको बजेट कार्यन्वयन महाशाखाले कार्यलय प्रयोजनका लागि तयार पारेको कार्यसंचालन निर्देशिका २०७७ (आठौं संस्करण) को बुँदा नम्बर ७.१.५ अनुसार अनुगमन भ्रमण टोली खटाउनु परेमा कामसँग प्रत्यक्ष सम्बन्धित कर्मचारी मात्रै खटाउनुपर्ने भनिएको छ । निर्देशिकामा बढीमा ३ जनाको टोली मात्रै खटाउनुपर्ने व्यवस्था गरेको छ ।

निर्देशिकामा लेखिएको छ, – ‘अनुगमन भ्रमण टोली खटाउनु परेमा कामसँग प्रत्यक्ष सम्बन्धित कर्मचारी मात्रै खटाउनुपर्नेछ । त्यसरी कर्मचारी खटाउँदा बढीमा ३ जनाको टोली खटाउनुपर्नेछ ।’

निर्देशिका अनुसार पालिकाका अध्यक्ष र उपाध्यक्षलगायत जनप्रतिनिधि मात्रै होइन, असम्बन्धि कर्मचारीसमेत सहभागी हुन पाउँदैनन् । ३ जनाभन्दा बढी व्यक्तिसमेत सहभागी हुन पाउँदैनन् ।

तर, ज्वालामूखीका अध्यक्ष दनै उपाध्यक्ष अर्याल र तत्कालिन प्रमुख प्रशासकीय अधिकृत प्रण्डीतले भने कानुन विपरित भत्ता रकम बुझेका हुन् । यो रकमलाई महालेखा परीक्षकको कार्यलयले अनियमित रकमको रुपमा राखिदिएको हो ।

यसरी गैरकानुनी रकम बुझ्नेहरुमा गाउँपालिकाका अध्यक्ष दनै, उपाध्यक्ष अर्याल, र प्रमुख प्रशासकीय अधिकृत पण्डितसहित एसएसपी माधव प्रसाद पौडेल, एसपी जनक पुरी, एसपी जनकराज बस्नेत, डीएसपी प्रेमप्रसाद सिग्देल र सुमन पण्डित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस