धादिङ । धादिङको ज्वालामूखी गाउँपालिका–३ मा रहेको शमीभञ्ज्याङ माध्यमिक विद्यालयमा वरिष्ठ शिक्षकलाई पाखा लगाएर कनिष्ठ शिक्षकलाई प्रधानाध्यापक बनाइएपछि बबण्डर मच्चिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगन भट्टले निम्न माध्यमिक तृतिय शिक्षक बद्री अर्याललाई माध्यमिक तहको प्रधानाध्यापक नियुक्त गरेर जापान उडेपछि विवाद उत्कर्षमा पुगेको हो ।
विद्यालयमा कार्यरत माध्यमिक तहका स्थायी दरबन्दी रहेका सिनियर शिक्षक हेमराज भट्टसहितका शिक्षकलार्ई लत्याएर कांग्रेस निकट शिक्षक संगठनका सचिव बद्री अर्याललाई नियुक्त गरिएको आरोप छ । विवादित प्राधानाध्यापक नियुक्ती गरेर अध्यक्ष भट्ट स्थायी बसोबासका लागि जापान उडेपछि विद्यालयका अरु सिनियर शिक्षक भने आन्दोलित छन् ।
विषयलाई लिएर विभिन्न शिक्षक संगठनले ज्वालामूखी गाउँपालिकालाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले कानुन विपरितको नियुक्तिलाई बदर गर्न माग गरेका छन् ।
नेपाल राष्ट्रिय शिक्षक संगठन, एकिकृत अखिल नेपाल शिक्षक संगठन, र प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रतिनिधिहरुले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन् ।
यसअघि केही दिनअघि मात्रै संयुक्त विज्ञप्ति निकाल्दै निरंकुश शैलीमा कनिष्ठ स्थायी शिक्षकलाई प्रधानाध्यापक नियुक्त गरेको भन्दै उनीहरुले आपत्ति जनाएका थिए । संयुक्त विज्ञप्तिमार्फत विरोध गर्दासमेत निर्णय नसच्चिएको भन्दै उनीहरुले गाउँपालिकाको कार्यलयमै गएर ज्ञापनपत्र बुझाएका हुन् ।
गाउँपालिकाले शिक्षा ऐन २०२८ को दफा १२ विपरित गठन गरेको विद्यालय व्यवस्थापन समितिले प्रचलित शिक्षा ऐन तथा नियमावलीलाई ठाडै कुल्चिएर तत्लो तहको कनिष्ठ शिक्षकलाई नियुक्त गरेकोमा उनीहरुको आपत्ति छ ।
विद्यालयमा ६ जना माध्यमिक तहका स्थायी शिक्षकहरु छन् । गत वैशाख १२ गते शिक्षा ऐन विपरित शिक्षकहरुसँग छलफल समेत नगरी चार जना विद्यालय व्यवस्थापन समितिका सदस्यहरु मात्रै बसेर प्रधानाध्यापक नियुक्त गरिएको थियो ।
गत मंसिर २३ गते शिक्षा विकास तथा समन्वय ईकाईले ज्वालामुखि गाउँपालिकालाई शमिभञ्ज्याङ्ग माध्यमिक विद्यालयको प्रअ नियुक्ती गर्दा कानुन अनुसार गर्न पत्राचार गरेको थियो । तर, शिक्षा विकास तथा समन्वय ईकाईको पत्रलाई समेत लत्याएर शमिभञ्ज्याङ्ग माध्यमिक विद्यालयमा प्रअ नियुक्त गरिएको शिक्षक संगठनहरुको आरोप छ ।