Latest News

धादिङ जिल्ला विकासको अवधारणापत्रमाथि छलफल

Nepalese Times May 4, 2025 (11 Hour ago)    122 Views

काठमाडौं । लोकतान्त्रिक पेशागत वुद्धिजिवी सञ्जाल धादिङले धादिङ जिल्लाको विकास अवधारणपत्रमाथि छलफल गरेको छ । यो संस्थाले धादिङको समग्र विकासको लागि सरोकारवालाहरुबीच बहस गर्दै आइरहेको छ ।

जिल्ला विकासका साझा सवाल, साझा प्राथमिकता र साझा ऐक्यवद्धताका लागि गएको चैत ३० गते आयोजित कार्यशालामा भएको बृहत् छलफलको निचोडको रुपमा विकासको अवधारणा–पत्रमा सम्वन्धित पक्षको सहमती र ऐक्यवद्धताको लागि कार्यक्रम आयोजना गरिएको वुद्धिजिवी सञ्जालले जनाएको छ ।

अवधारणापत्र घोषणा कार्यक्रममा धादिङको भौतिक पुर्वाधार तथा वस्ती विकास, स्वास्थ्य खानेपानी र सरसफाई, शिक्षा र आर्थिक विकासको क्षेत्रमा कार्यशालामा प्रस्तुत भएका कार्यपत्रबाट आएका बुँदाहरुमा छलफल गरिएको थियो ।

छलफलमा सहभागि कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारी, पूर्वमन्त्री तथा सांसदहरु वुद्धिमान तामाङ, वागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे, रास्वपाका उपसभापति डीपी अर्याल, संविधानसभाका सभासद गुरुप्रसाद वुर्लाकोटी, वागमती पदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मधु कुमार श्रेष्ठ, सांसद बिना लामा, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पुष्पराज कंडेल, त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थाका डिन डा. ठाकुर सिलवाल, धादिङ जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारी, धुनिवेसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य, गंगा जमुना गाउँपालिका अध्यक्ष भक्तवहादुर लामा, सामाजिक अभियानकर्ता वोधनारायण श्रेष्ठ तथा ध्रुवचन्द्र गौतमले जिल्ला विकासको अवधारणापत्रमा आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।

राष्ट्रिय गौरवको वुढिगण्डकी परियोजना तथा पर्यटकिय र आर्थिक विकासका दृष्टिले महत्वपुर्ण सडकहरु मलेखु–भण्डार–ठोरी, भिमढुंगा–लामिडाँडा, धादिङवेसी–तिप्लिङ–सोङ्दाङ, पृथ्वी राजमार्गको समानान्तर राजमार्ग तथा मध्यपहाडी लोकमार्ग र हुलाकी मार्गलाई धादिङ जि–लाको दीर्घकालिन विकासको अवधारणामा समेट्नु पर्नेमा उनीहरुले जोड दिएका थिए ।

यसैगरी खनिज तथा बनपैदावरको उत्खनन, उत्पादन तथा उपयोगवाट पनि धादिङ जिल्लाले विकासको फड्को मार्न सक्नेमा सहभागी वक्ताहरुले चर्चा गरेका थिए । शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाईलाई विकासको आधरभुत तत्वको रुपमा चर्चा गर्दै उहाँहरुले कृषि, पर्यटन र प्रविधिको विकासमा ध्यान दिनुपर्ने बताए ।

उनीहरुले छलफलमा उठेका विषयहरुलाई पूनः समेटेर धादिङ विकासको अवधारणा–पत्रमा साझा प्रतिवद्धता जनाउने कुरा पनि बताए ।
सहभागिहरुले धादिङको विकासका सवालमा लोकतान्त्रिक पेशागत तथा बुद्धिजिवी सञ्जालको सकृयता र तदारुकताको प्रशंसा गर्दै सञ्जाल आफैले नेतृत्व गर्ने नभइ विकासका एजेण्डाहरुमा वैद्धिक वहस गरि साझा ऐक्यवद्धताको लागि सहजकर्ताको भुमिका निर्वाह गर्न आग्रह गरे ।

सञ्जालका अध्यक्ष डा. कृष्णमान शाक्यको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष डा. प्रताप छत्कुलिले अवधारणा–पत्रको सम्वन्धमा संक्षिप्त जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन सचिव निरन्जन श्रेष्ठले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस