Latest News

तनहुँ दुर्घटनामा ज्यान गुमाउनेको संख्या २७ पुग्यो, यस्तो छ पछिल्लो अपडेट

Nepalese Times August 23, 2024 (1 Year ago)    1613 Views

काठमाडौं । तनहुँको मर्स्याङ्दी नदीमा बस खस्दा मृत्यु हुनेको संख्या २७ पुगेको छ। शुक्रबार आँबुखैरेनी गाउँपालिका ४ ऐना पहरास्थित पृथ्वीराजमार्गबाट भारतीय नम्बर प्लेटको गाडी मर्स्याङ्दी नदीमा खसेको हो। युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खस्दा ज्यान गुमाउनेको संख्या २७ पुगेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

त्यसैगरी घटनामा १६ जना घाइते भएका छन्। घाइते सबैलाई सुरूमा आँबुखैरेनी अस्पतालमा पठाएको थियो। दिउँसो सवा ३ बजे नेपाली सेनाको एमआई १७ मा राखेर १२ जनालाई काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याइएको थियो। पछि थप चार जनालाई पनि हेलिकप्टरमै राखेर शिक्षण अस्पतालमा ल्याइएको हो। दुर्घटना भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको थियो। दुर्घटनामा परेको बसमा ४३ जनै भारतीय रहेको खुलेको छ। उनीहरू पोखराबाट काठमाडौंतर्फ आउँदै गर्दा दुर्घटनामा परेको हो। दुर्घटनामा परेको बस शनिबार मात्रै निकालिने डिएसपी थापाले बताए।

प्रतिक्रिया दिनुहोस