Latest News

हास्य व्यंग्य गाईजात्र हास्य कलाकारकाे पर्व : ईतिहास र वर्तमान

Nepalese Times August 20, 2024 (1 Month ago)    320 Views

घनश्याम गाैतम (नक्कली प्रचण्ड)

हास्य ब्यङ्ग गाईजात्राकाे ईतिहास
गाइजात्रा दु;ख बिर्साउन शुरु भएको सबैभन्दा ठूलो र पुरानो जात्रा। भाद्रकृष्ण प्रतिपदामा विगत बर्ष भरी दिवङ्गत भएकाको सम्झनामा दु;ख बिर्साउन रमाइलो गरेर मनाउने यो जात्रा हास्य व्यंग्य कलाकारकाे सबैभन्दा ठुलाे पर्व हाे । राजा प्रताप मल्लले आफ्नाे छाेराकाे निधनभएपछि साेकमा डुबेकी रानीलाई खुशि पार्न अनेक जुक्ति अपनाए केही सीप नलागेपछि जसकाे घरमा मान्छे बितेका छन उनिहरुले रङ्गीचङ्गी कपडा लगाई गाईसमेत लिएर जात्रामा निस्कने आदेश दिए त्यस बेलादेखि गाईजात्रा मनाउन थालिएकाे हाे । प्रताप मल्लकाे पालामा पाटनकाे डबली मा देखाइने कात्तिके नाच पनि निकै प्रसिद्ध छ ।

राजा प्रताप मल्लको समय देखि चलिआएकाे गाइजात्रालाइ हास्यब्यङ्ग्यको रमाइलो गर्ने चाडका रुपमा मनाउन थालियाे । राजा बीरेन्द्रका समयमा २०३३ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिस्ठानमा हरेक वर्ष एक हप्ता गाइजात्रा महोत्सवका रुपमा प्रारम्भ हुन थाल्याे । यो कार्यक्रमअघि हास्य व्यंग्यकार रामकुमार पाणेका कलियुग पत्रिका र उनका लेखन प्रकाशनले दरबारमा प्रभाव पारेको र सार्वजनिक रुपमा ल्याउन त्यस बखतको उनका गुरु दरबारका सचिबले राजाको स्वीकृतिमा प्रज्ञा प्रतिष्ठानलाई संस्थागत बिकास गर्न लगाएको कुरा त्यस बेलाका प्रज्ञाका सचिव सत्य मोहन जोशिले बेलाबखत आफ्नो प्रवचनमा उल्लेख गरेका छन् ।

२०४६ सालमा बहुदलले बन्द गरेपछि बरिष्ठ हाँस्यब्यङ्गकार राम कुमार पाणेले “हास्यब्यङ्ग्य समाज नेपाल” हासने गठन गरे र हास्यब्यङ्ग्य महोत्सवलाई निरन्तरता दिए । राजा महेन्द्रको समयमा पनि नाचघरमा रसरङ्ग कार्यक्रम सन्चालन भएकाे थियाे । त्यतिबेलाका हास्य व्यंग्य कलाकार मास्टर केशव, राजपाल थापा, धुर्ब हाडाको हास्य मन्चन अद्भूत थियो। त्यस्तै गोपालराज मैनाली, लक्ष्मण लाेहनी प्रभावशाली कलाकार थिए। भीमबहादुर थापा, रामशेखर,बसुन्धरा भुषाल, पछि गाइजात्रा महोत्ससँगै मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य देखा परे । मदनकृष्ण र हरिबंश जाेडि भएर मह बनेपछि “मह हाँस्यब्यङ्ग महाेत्सव” हास्य ब्यङ्ग गाईजात्रालाई निकै लाेकप्रिय बनाए । रमेश केसी, राजाराम पाैडेल, किरण केसि सन्तोश पन्त आनन्द थापाले हास्यब्यङ्ग्य महोत्सबलाईनै अघि बढाए त्यसपछि शैलेन्द्र सिम्खडा, शम्भु दाहाल शिवहरी पाैडेल , खेम शर्मा, साम्दे शेर्पा , डम्बर घिमिरे ,मनोज गजुरेल दिपकराज गिरि दिपा श्री निराैला, कमल मैनाली जितु नेपाल, दमन रुपाखेती, कमल गाउँले, सुरेन्द्र के सी, पल्पसा डंगाेल, गाेपाल नेपाल फिस्टे, शिव शंकर रिजाल, रबी डँगाेल, राजन थापा, पुर्ण थापा, केदार घिमिरे माग्ने बुढा, सिताराम कट्टेल धुर्मुस. बिष्णु सापकाेटा हर्के हल्दार लगायतले हास्यब्यङ्ग्यको मन्च जमाए ।

हाँस्यब्यङ्ग गाईजात्रामा मेराे अनुभब
२०६४ सालमा पहिलाे पटक सँयुक्त रुपमा शिराेमणि दवाडी र शिशिर सुवेदीसँग मिलेर हास्यव्यंग्य गाईजात्रे क्यासेट  “भाँडतन्त्र” बजारमा ल्याए पछि  हास्य ब्यङ्ग गाईजात्रा मा निरन्तर प्याराेडी गीत र क्यारिकेचर हरु गर्दै आएँ । २०६८ साल देखि राष्ट्रिय सभागृहबाट गाईजात्रा महाेत्सवमा सकृय रुपमा सहभागी हुन थालेँ । “६०१ पिन्ड दान” “कल बालुवाटार”,” कठपुतली” “बकम्फुसाय नम”, “ब्रेक थ्रु” “छताछुल्ल” , “ब्रम्हलुट”, “तानातान”, “कुरी कुरी कुर्सी ,”वार कि पार” “लुटतन्त्र “लगायत दर्जनाै हाँस्यब्यङ्ग गाईजात्रे एल्बमहरु विभिन्न कम्पनी मार्फत बजारमा आए । यी गाईजात्रे प्रस्तुतिहरुलाई दर्शकहरुले धेरै नै मन पराएका थिए ।

मैले २०६८ साल देखि हरेक बर्ष निरन्तर प्याराेडी गितहरु बजारमा ल्याएँ । ती मध्ये ” कराेडपति फिल्मकाे गित कालाे टाेपी भादगाउँले याे टलक्क टल्कियाे काे प्याराेडि “राताे पासपाेर्ट खल्तिमा मेराे टलक्क टल्कियाे”… शत्रुगते चलचित्रकाे रुपै माेहनी गितकाे प्याराेडी ” बेसार पानी खाउ जनता बेसार पानी खाउँ र डाँडाघरे साईलीकाे प्याराेडी “जता ततै राजनिति गन्हाउँछाै” लगायतका प्याराेडि गीतहरुलाई दर्शकहरुले अत्याधिक रुचाएका थिए । गत बर्ष लुटतन्त्र एल्बममा समावेश भएकाे प्याराेडी “जताततै राजनिति गन्हाउँछाै भन तिमी देश क्यारी बनाउछाै तिमी हाम्लाई हेर्दै मन नपर्ने” भन्ने गीत म आफैले गाएकाे थिएँ ।

बि स २०५५ सालमा सन्त नेता कृष्ण प्रसाद भट्टराईकाे क्यारिकेचर गर्दै मैले क्यारिकेचरकाे सुरुवात गरेकाे हाे । जतिबेला बिजय कुमार र कृष्ण प्रसाद भट्टराईकाे ईन्टरभ्युकाे क्यारिकेचर निकै चर्चाम थियाे । हास्य ब्यङ्ग गाईजात्रा भन्ने बित्तिकै क्यारिकेचरकाे निकै महत्व छ । बिगतमा लक्ष्मण लाेहनी, साम्दे शेर्पा, श्रीकृष्ण सिम्खडा, मनाेज गजुरेल लगायत थुप्रै कलाकार क्यारिकेचरका कारण चर्चित छन् । २०६४ सालदेखी मैले कमरेड प्रचण्डकाे क्यारिकेचर गर्न सुरु गरेकाे थिएँ । पहिला पहिला कृष्ण प्रशाद भट्टराई, गणेशमान सिंह, गिरिजा प्रसाद काेइराला, माधब नेपाल, वामदेव गाैतम लगायत थुप्रै नेताकाे क्यारिकेचर गर्ने गर्दथेँ । तर जब प्रचण्डकाे क्यारिकेचर प्रचण्डकै गेटअपमा गर्न थाले त्यसपछि भने अरु नेताकाे क्यारिकेचर गर्न छाडेर प्रचण्डकाे मात्र क्यारिकेचर गर्न थालेँ ।

हलमा हुने हाँस्यब्यङ्ग गाईजात्रा
गाईजात्राकाे अवसरमा हलमा दुई समुहले छुट्टाछुट्टै हास्यव्यंग्य गाइजात्रा गर्ने गरेका छन् । यसपालीकाे प्रज्ञा प्रतिष्ठानमा हुने गाईजात्राकाे समुहमा मनाेज गजुरेल, शैलेन्द्र सिम्खडा, यमन श्रेष्ठ, सुबाेध गाैतम, प्रभात लामा , सीता न्याैपाने , मेक्सम गाैडेल, चक्र दवाडी ,सजन श्रेष्ठ लगायत छन् भने नाचघर मा हुने गाईजात्रा काे अर्काे समुहमा धुर्मुस सुन्तली, शिव शँकर रिजाल,( जाेगिन्दर) सुरेन्द्र के सी मुलाकाे साग, पल्पसा डँगाेल “चम्सुरी” लक्ष्मण गाम्नाङे, राजा राजेन्द्र, हिमेश पन्त, खबपु , सन्ताेष खनाल, सुयसा खनाल, लगायतका कलाकारकाे प्रस्तुति रहेकाे छ ।

नियमित रुपमा हास्य ब्यङ्ग गाईजात्रा गर्दै आएका एउटा समुहका नेतृत्वकर्ता दमन रुपाखेती भने यसपालीकाे गाईजात्रे प्रस्तुतिमा छैनन् । त्यसैगरि नियमित गाईजात्रा गर्ने प्रभाकर देब शर्मा, रबि डँगाेल, पुर्ण थापा, बिष्णु सापकाेटा” हर्के हल्दार” किशाेर भण्डारी, पनि यसपालीकाे गाईजात्रे कार्यक्रममा छैनन्  । यसपाली डिजिटल गाईजात्रा मार्फत यु ट्युबमा शिव सँकर रिजाल जाेगिन्दर ले “ठगठाग कम्पनी” दमन रुपाखेतीकाे” पत्तासाफ” शैलेन्द्र सिम्खडाकाे “यसपालीकाे सिकार”कमल गाउँले काे “भिषण ८४” प्रभाकरदेव शर्मा काे “जा जा आ बा” गाेपाल ढकाल छन्दे काे ” गठबन्धनका राजाहरु”जसमा “नक्कली के पी वली” सुरेश तिमल्सिनाले साथ दिएका छन् भने उत्तम काेदे काे “बसिबियालाे” युबराज भण्डारी काे ” घुडैसिति २०८१” लगायत गाईजात्रा बजारमा आएका छन् ।

नियमित रुपमा २०६८ सालदेखि दमन रुपाखेती समुहकाे गाईजात्रा कार्यक्रममा प्रचण्डकाे अभिनय गर्दै आएकाे म पाेहाेर साउन देखि पेटकाे ठुलाे आन्द्राकाे क्यान्सर भएपछि उपचार गरिरहेकाे छु ।

पाेहाेर साल पनि गाईजात्रामा उपचारमै थिए भने यसपालीकाे गाईजात्रामा पनि म अस्पतालकाे बेडमै हुने छु । गाईजात्रा हास्य कलाकारकाे ठुलाे पर्व हाे यस्ताे पर्वमा नियमित सकृय भएर दर्शकहरुलाई हँसाउँदै आएकाे थिएँ । तर अहिले अस्पतालकाे बेडमा हुँदा सारै दुख लाग्दाे रहे छ । जिन्दगी जस्ताे परे पनि त्यसकाे सामना गर्नै पर्दाे रहेछ तर हिम्मत हारेकाे छैन । याे क्यान्सरसँगकाे लडाईमा पक्कै मेराे जीत हुनेछ ।

र फेरि दर्शक हसाउन म स्टेजमा उक्लने छु । सम्पुर्ण शुभचिन्तक तथा दर्शकहरुकाे माया र शुभेच्छाले मेराे मनाेबल डगमगाएकाे छैन । अर्काे गाईजात्रामा हसाउने सामग्री लिएर आउने बाचा गर्दै यसपालीकाे हाँस्यब्यङ्ग गाईजात्रा गर्ने दुई टाेलीलाई सफलताकाे शुभकामना ब्यक्त गर्दछु! जय हास्यव्यंग्य । जय गाईजात्रा !!
[email protected]

प्रतिक्रिया दिनुहोस