काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आगामी भदौ ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग बयान लिने भएको छ। पोखराको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारी र चितवनको सहारा सहकारीबाट गोर्खा मिडियामार्फत रकम अपचलन गरेको आरोप लामिछानेमाथि छ। यी लगायत देशभरका समस्याग्रस्त झण्डै १ सय सहकारीका सञ्चालक र सेयर सदस्यहरूसँग समितिले बयान लिइरहेको छ।
समितिका सभापति सूर्य थापाका अनुसार, बयान लिने क्रम अन्तिम चरणमा पुगेको र अब प्रतिवेदन लेखनमा केन्द्रीत हुनेछ। समितिका एक सदस्यका अनुसार, आगामी भदौ ७ गते लामिछानेसहित गोरखा मिडियामै आवद्ध अर्का एकजनाको बयान लिइनेछ। समितिका ती सदस्यले दिएको जानकारी अनुसार, सभापति लामिछाने लगायतले विभिन्न सहकारीबाट रकम ल्याएर अपचलन गरिएको देखिएको छ।