दाङ । दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक सयभन्दा बढी युवाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । शनिबार रिपोर्टर्स क्लब दाङमा पत्रकार सम्मेलन गरी उनीहरूले पार्टी परित्याग गरेको जानकारी गराएका थिए ।
पत्रकार सम्मेलनमा बोल्दै पार्टीका निर्वाचन क्षेत्र नं. २ का सदस्य विजय केसीले पार्टी सभापति रवि लामिछानेमाथि लागेका विभिन्न आरोप, स्टन्ट बाजीलगायत कुराले युवालाई भ्रममा पारेको भन्दै सभापतिबाट देशको समृद्धि नहुने बताए ।
उनले कार्यकर्तालाई अव्यवहारिक तथा अमानवीय तरिकाले जाइलाग्न बाध्य बनाएका कारणले आफूहरूले पार्टी परित्याग गरेको दावी गरेका छन् । उनले भने, ‘हामीले कुनै रहर, प्रतिशोध र कसैको दबावमा नभई राजनीति बुझेरै पार्टी परित्याग गरेका हौँ । अब हामी स्वतन्त्र अभियान दाङ नामक कमिटी गठन गरेर अगाडि बढ्नेछौं ।’
पार्टीका लागि आफूहरू दिनरात नभनी लागेको भन्दै अहिले पार्टीले आफूहरूलाई अन्याय गरेको उनले आरोप लगाएका छन् । पार्टी अराजक र दमनकारी शैलीमा अगाडि बढेको आरोप लगाए । उनले पार्टीको जिम्मेवारी योग्यता र क्षमतामा नभई आफ्ना मान्छेलाई दिँदा पुरानै पार्टीको चरित्र रास्वपाले देखाएको दावी गरे । पार्टीका तुलसीपुर नगर सभापति मेघराज केसीललगायत बोलेका थिए ।