Latest News

हरि ढकालले बोल्दाबोल्दै सभामुखले माईक बन्द गरेपछि संसद्‍मा तनाव

Nepalese Times August 13, 2024 (1 Month ago)    198 Views

काठमाडौं । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेको निर्णयलाई लिएर प्रतिपक्षी सांसदहरूले विरोध गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले आकस्मिक समयमा बोल्ने क्रममा सभामुख घिमिरेले रोकेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पनि विरोधमा उत्रिएका हुन् ।

सांसद ढकालले बोल्दा बोल्दै सभामुखले रोकेको भन्दै रास्वपा र राप्रपाका सांसदहरू ड्यासबाट उभिएर विरोध जनाएका हुन् । रास्वपा सांसद ढकालले देशको हवाई र सडक यातायातबारे बोलिरहेका बेला सभामुख घिमिरेले रोकेका थिए । बैठकको आकस्मिक समयमा सांसद ढकालले सार्वजनिक यातायात क्षेत्र असुरक्षाबारे बोल्न समय मागेर विद्युत महसुलको विषय उठाउन खोजेको भन्दै सभामुख घिमिरेले रोकेका थिए ।

ढकालले यातायातबारे बोलिसकेपछि विषयलाई विद्युत् प्राधिकरणको बक्यौतातिर लगेका थिए । त्यही बेला सभामुख घिमिरले विषय अर्थात् यातायातबारे मात्रै केन्द्रित भएर बोल्न समय दिएको भन्दै माइक काटिदिएका थिए । माइक काटिदिएपछि रास्वपा र राप्रपाका सांसदहरूले आफ्नो अधिकारमा अंकुश लगाउन खोजेको भन्दै विरोध गरेका हुन् ।

ढकाललाई बोल्न दिएको अवस्थामा बोल्दा बोल्दै रोकेपछि रास्वपा सभापति रवि लामिछानेसहितका सांसदहरू उठेर विरोधमा उत्रिउका हुन् ।त्यसपछि सभामुख घिमिरेले विषयमा केन्द्रित हुन सुझाए । सभामुख घिमिरेले विषयकेन्द्रित कुरामा बोल्न दिएको अवस्थामा विषयान्तर हुनु उचित नहुने बताएका थिए ।

त्यसपछि सभापति लामिछानेले समय लिएर सभामुखको कदमलाई आपत्ति जनाए । ‘हरि ढकालजीले आकस्मिक समयमा समसामयिक विषयमा बोलिरहेका बेला माइक काट्नु गलत थियो । त्यसैले बाँकी समय उहाँलाई नै बोल्न दिऊँ’, उनले भने, ‘बोल्दा बोल्दै लाइन काटिनु गम्भीर आपत्तिको विषय हो । आफ्नो विषय सक्नका लागि भनिदिने कुरा एउटा हो तर माइक काटिनु गलत भयो ।’

यसलाई लिएर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि आपत्ति जनाएका छन् । ‘हामीले बोल्न आकस्मिक समय पाउँछौँ । यो पटकबाट हामीले परम्परा बिगारिरहेका छौँ’, उनले भने, ‘पहिले नै यो विषयमा बोल्न पाउँछौँ भन्ने कुरा मान्य हुँदैन । जनताका कुरा राख्दा संविधान र संसद्को नियमावलीविपरीत भए रोक्नु पर्छ । तर, सांसदहरूको विशेषाधिकारलाई नियन्त्रित गर्ने कुरा हामी मान्दैनौँ ।’

सभामुखले आकस्मिक समयको नियमबारे पढेर सुनाए पनि दुवै दलका सांसदहरूले उठेर विरोध जारी राखेका छन् । दलीय आधारमा सांसदहरूलाई दुई घण्टा समय दिएको सभामुखले बताए पनि दुई दलका सांसदले विरोध जारी राखेका छन् ।

प्रतिक्रिया दिनुहोस