Latest News

मेयर बालेनले त त्यतिबेला नै भनेका थिए, तर अलालतबाट रोकियो (भिडिओसहित)

Nepalese Times August 9, 2024 (4 Month ago)    231 Views

काठमाडौं । बिहीबार राति दरवार मार्गको महेन्द्र शालि कबाट र काठमाडौ प्लाजा जोड्ने सडक भासिएर निक्कै ठूलो भ्वाङ परेको छ । यो ठाउँ काठमाडौं महानगरपालिकाको कार्यलय अगाडीको हो । भ्वाङ परेको ठाउँ महानगरपालिकाको कार्यलयको गेट नजिकैको हो । टुकुचा छोपेर बनाईएको यो सडक भासिएर बनेको भ्वाङमा परेर एकजना प्रहरी इन्स्पेक्टर घाईते नै भएका छन् । स्थानीयले बिहीबार राति सडक भासिएको खबर गरेपछि दरबारमार्गमा कार्यरत् इन्स्पेक्टर भूपेन्द्र बुढाथोकी सडकको निरीक्षणमा पुगेका थिए ।

 

सो क्रममा उनी भ्वाङमा फस्न पुगेका थिए । बूढाथोकीको निधार र हातमा चोट लागेको छ । मध्यरातको सट्टामा दिउँसोको समयमा यसरी सडक भासिएको हुन्थ्यो भने सायद यो ठाउँमा अर्को ठूलो दुर्घटना हुने पक्कापक्की नै थियो । एकतर्फीरुपमा गाडी गुड्ने यो सडक यसअघि पनि भासिएको थियो । १ पटक हैन, पटक–पटक भासिँदासमेत टालटुल गरेर सामान्य रुपमै गाडी गुडाउन थालियो ।

टुकुचा खोला छोपेर बनाईएको यो सडकमा ठूलै दुर्घटनाको खतरा छ भन्ने पूर्व सूचना सम्भवत सम्बन्धित सबैलाई थियो । यसबारे काठमाडौं महानगरपालिकाका मेयर बालेन सहसमेत जानकार नै थिए । कुनै न कुनै समयमा ठूलै दुर्घटना हुन सक्ने सम्भावना उनले पनि नदेखेका होइनन् । तर, उनलाई यसबारे थाहा भएर पनि कुनै अर्थ थिएन । आफ्नै कार्यलय अगाडी यस्तो दृश्य देखिँदासमेत मेयर बालेनको टीम अहिले टुलुटुलु हेरेर बसिरहनुपरेको छ । त्यसको कारण हो यसको क्षेत्राधिकार ।

यो सडकको निर्माण एवं मर्मतको काम महानगरले गर्न पाउँदैन । सडक विभागको कार्यक्षेत्रमा पर्ने यो सडकमा मध्यरातमा भासिएसँगै अब यसको मर्मत सम्भार गर्न सडक विभागकै कर्मचारीहरु खटिनेछन् । उसो त आफ्नै कार्यलय अगाडि परेको यो भ्वाङ हेर्दै मेयर बालेनले पन मुख खोलेका छन् । उनका अनुसार टुकुचामाथिको यो सडकसँगै अझै केही घरहरुसमेत छन् । महानगरले केहि समय पहिले यस्तै जोखिम देखेर खोला खुल्ला गर्न टुकुचा खोल्ने काम शुरू गरेको थियो । तर, अदालती कारणले त्यो अभियान रोक्नुपर्ने परिस्थिति बन्यो ।

अदालतको आदेशपछि टुकुचा खोलाको क्षेत्राधिकारभित्रका व्यक्ति विशेषका नाममा त्रुटिवश हुन गएको जग्गा कानून बमोजिम लगत कट्टा गर्नको लागि सम्बन्धित मन्त्रालयमा महानगरले पत्र पठाइसकेको छ । सरकारले चाँडो भन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनुपर्ने मेयर बालेनको माग छ । त्यसलगत्तै खोला खोल्ने काम महानगरले तुरुन्तै अगाडी बढाउने उनको भनाई छ । मध्यरातमा भासिएको यो सडकमा अहिले गाडी आवागमन रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस