Latest News

एमालेबाट औपचारिक रुपमै बाहिरिए मणि थापा, माओवादीमै फर्कन लागेका हुन् ?

Nepalese Times August 2, 2024 (4 Month ago)    225 Views

काठमाडौं । मणि थापा एमालेबाट औपचारिक रुपमै बाहिरिएका छन् । नेकपा एमालेको स्थायी कमिटी रहेका उनी पदमुक्त भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पुष्टि गरेका छन् । उनी २०७९ को निर्वाचनदेखि पार्टीमा निष्क्रिय रहँदै आएका थिए। २०८० को साउनमा बसेको सचिवालय बैठकले पार्टीमा निष्क्रिय भएकोबारे सोधपुछ गर्ने निर्णय गरेको थियो।

बिहीबार बसेरा होटलमा बसेको एमाले सचिवालयको ३४ औं बैठकले स्थायी कमिटीको दुई रिक्त सदस्यमा मुकुन्द न्यौपाने र लिलानाथ श्रेष्ठलाई मनोनीत गरिसकेको छ। न्यौपाने एकीकृत समाजवादी छोडेर एमालेमा आएका थिए। श्रेष्ठ पोलिट्ब्यूरोबाट बढुवा भएका हुन्।

यसअघि स्थायी कमिटी सदस्य रहेका गुरू बराल उपाध्यक्ष मनोनीत भएपछि उनको स्थान खाली भएको थियो। अर्को मणि थापा पद मुक्त भएपछि ठाउँ खाली भएको हो। एमालेका नेताहरूका अनुसार मणि थापा चुनाव अघिदेखि नै सक्रिय थिएनन्। मंसिर ४ गतेको निर्वाचनमा उनी गृहजिल्ला प्युठानका दुई वटा जति सभामा सहभागी भए। प्युठान नगरपालिकाका ८, ९, १० वडाका घरदैलो सभामा बोलाए पनि उनी गएनन्। उनी केही समयदेखि अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट थिए ।

माओवादीमै हुँदा पनि थापा नेतृत्वप्रति बेला–बेलामा असन्तुष्टि पोखिरहन्थे। राज्यसत्ताविरूद्ध लडाइँका अलावा उनले ‘जनयुद्ध’मा सांस्कृतिक बान्की थपेका थिए। गीत रचना र संगीतको लयद्वारा माओवादी आन्दोलनलाई जन–जनमा पुर्‍याउन, जोड्न सघाएका थिए।

माओवादी आन्दोलित विस्तारित हुँदै गर्दा नेतृत्व साँघुरिदै गयो। पार्टीभित्र गुटले हाँगा हाल्न थाले। आन्दोलन, पार्टीका नेता–कार्यकर्ताको भावनाविपरीत नेतृत्वको संरचना निर्माण हुन थाल्यो।

त्यसबाट आजित भएर उनले विद्रोहको बाटो नहिँडेको पनि होइनन्। २०६२ मा भारतको नयाँदिल्लीमा तत्कालीन सात दल र माओवादीबीच १२ बुँदे सहमतिप्रति विमति जनाउँदै उनले पार्टी परित्याग गरे। माओवादी छोडेका रवीन्द्र श्रेष्ठ र थापाले क्रान्तिकारी कम्युनिष्ट केन्द्र खोलेका थिए। २०७३ मा मात्रै थापा माओवादीमा फर्किएका हुन्। श्रेष्ठ त्यसअघि नै एमालेमा प्रवेश गरेका थिए।

नेकपा विघटनपछि एमालेमै रहँदा पनि पुरानै प्रवृत्तिको अधीनमा रहनुपरेको अनुभूति थापाले गर्न थाले। सार्वजनिक रूपमै उनले भन्ने गरेका थिए– कम्युनिस्ट पार्टीहरू आफैं समस्याग्रस्त बन्न थालेपछि समाजमा पैदा हुने नयाँ–नयाँ समस्या समाधान गर्न सक्दैनन्।

२०७७ पुस ५ गते तत्कालीन प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि नेकपाभित्र फाटो आयो। त्यतिबेला ओलीलाई साथ दिएका थापा खानेपानी मन्त्री पनि बनेका थिए। २०७८ मंसिरमा भएको एमालेको दसौं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका उनी स्थायी कमिटी सदस्य मनोनीत बनेका थिए।

प्रतिक्रिया दिनुहोस