Latest News

आज राष्ट्रिय झण्डा आधा झुकाइने, विमान दुर्घटनामा ज्यान गुमाएकाको शव परीक्षण पनि शुरु

Nepalese Times July 25, 2024 (2 Month ago)    240 Views

काठमाौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएकाको सम्झनामा आज राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ । हिजो बिहान काठमाण्डौबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमान विमानस्थल क्षेत्रमा दुर्घटना हुँदा १८ जनाको ज्यान गएको थियो। विमानका पाइलट मनिष शाक्य घाइते भएका छन् । उनको सिनामङ्गलमा रहेको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै ज्यान गुमाएकाहरुको शव परिक्षण पनि सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मृतक १८ जनाको शव परीक्षण शुरु भएको हो । अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा.गोपालप्रसाद चौधरीले हिजो चार वटा शव परीक्षण गरेर शवको पहिचानको काम शुरु गरिएको बताए ।

उनका अनुसार एक जनाको शव परीक्षण गर्न चार घण्टा लाग्नेछ । अस्पतालमा जनशक्ति कम भएकाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर अस्पताल, धुलिखेल अस्पताल, पोखराबाट समेत डाक्टरहरु बोलाइएको उनले बताए ।

मृतकका आफन्तले उपलब्ध गराएको विवरणअनुसार म्याचिङ गरेर सबै शवको पहिचान ७२ घण्टाभित्र गर्ने उहाँले बताउनुभयो । शव पहिचानका लागि फिङ्गर प्रिन्ट, दाँतको विवरण, हुलिया र डीएनए परीक्षण विधि अपनाइन्छ । उनले फिङ्गर प्रिन्ट, दाँतको विवरण, हुलिया विधिबाट शव पहिचान नभए अन्तिममा डीएनए विधिबाट शव पहिचान गर्ने बताए । डीएनए विधिबाट शव पहिचान गर्न कम्तीमा दुई हप्ता लाग्ने उनको भनाइ छ ।

यसैबीच सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।

आयोगको सदस्यमा नेपाल वायुसेवा निगमका क्याप्टेन दिपुराज ज्वार्चन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप भट्टराई, श्री एयरलाइन्सका इञ्जिनियर सञ्जय अधिकारी रहेका छन्  । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) अधिकृत मुकेश डङ्गोल सदस्य सचिव रहेका छन् ।

आयोगलाई ४५ दिनभित्र प्रतिवेदन पेस गर्न समय दिइएको छ । सञ्चारमन्त्री गुरुङकाअनुसार आउँदा दिनमा हवाई दुर्घटना हुन नदिन स्वदेशी तथा विदेशी वायुसेवा सञ्चालन गरिरहेका सञ्चालक कम्पनीले विमानको अनिवार्य प्राविधिक परीक्षण गर्ने र प्राधिकरणले त्यसको सघन अनुगमन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस