Latest News

पशुपतिमा कोटीहोम चलाईरहेका ‘महाराज’ को अर्को कर्तुत, विद्यालयलाई झुक्याएर ४८ लाख झ्वाम !

Nepalese Times July 22, 2024 (2 Month ago)    854 Views

काठमाडौं । पशुपतिमा एक महिने कोटिहोम चलाईरहेका कथित धर्मगुरु विष्णु भण्डारी उर्फ विष्णु प्रपन्नाचायको एकपछि अर्को कर्तुत सार्वजनिक हुने क्रम जारी छ । यसैक्रममा २०७५ सालमा उनले गुल्मीको गुल्मी दरबार गाउँपालिका ४ मा रहेको रुन्खा दह माध्यामिक विद्यालयमा महायज्ञ गर्न चानचुन २ लाख रुपैयाँ मात्रै छाडेर अरु सबै ४८ लाख रुपैयाँ रकम कुम्ल्याएर त्यहाँबाट हिँडेको आरोप लागेको छ । २०७५ साल चैत २३ गतेदेखि ३० गतेसम्म विद्यालयमा महायज्ञ गरिएको थियो ।

महायज्ञको प्रमुख बाचक थिए उनै विष्णु भण्डारी उर्फ श्री बालयोेगेश्वर महाराज । महायज्ञबाट उठेको पैसाले प्राविधिक शिक्षा स्थापना गर्ने, स्मार्ट विद्यालय बनाउने, विद्युतीय पुस्तकालाय बनाउने, उच्चस्तरीय विज्ञान प्रयोगशाला निर्माण गर्नेलगायत काम गर्ने सपना विद्यालयले बोकेको थियो । तर, भईदियो फरक, कथित धर्मगुरु विष्णु प्रपन्नाचार्यले विद्यालयलाई देखाएर महायज्ञ गरेर उठेको पैसाजती सबै आफैंले बोकेर हिँडेको विद्यालयका प्रधानाध्यापक देव बहादुर पाण्डे बताउँछन् ।

रुन्खा दह माध्यामिक विद्यालयमा हेलिकोप्टर नै चढेर प्रवचन दिन जाँदा कथित धर्मगुरु बालयोगेश्वर महाराजलाई त्यतिबेला भव्य स्वागत भएको थियो । महायज्ञबाट उठेको पैसाले विद्यालयको शैक्षिक गुणस्तर माथि उक्सने त्यहाँका मानिसको सपना थियो । तर, त्यो सपनालाई लात मार्दै कथित धर्मगुरु भण्डारीले महायज्ञमा उठेको भएभरको सबै रकम बोकेर हिँडेको विद्यालयको आरोप छ ।

महायज्ञमा १ करोड लाख २८ लाख रुपैयाँ बोल कबोल भएको थियो । तर जम्माजम्मी ५० लाखजती मात्रै नगद रकम संकलन हुन पुग्यो । सुरुमा ५० लाख मात्र नगद उठे आफूले कुनै रकम नलिने बताएका थिए  । तर यज्ञ सकिएपछि कबोल भएकोमध्ये ४० प्रतिशत हिसाब गरेर जम्मा उठेकोमध्ये २ लाख मात्र विद्यालयलाई दिएर बाँकी सबै पैसा कुम्ल्याएर कथित धर्मगुरु बालयोगेश्वर महाराज त्यहाँबाट हिँडे ।

उठ्न बाँकी कबोल भएको रकम अहिलेसम्म विद्यालयले उठाउन सकिरहेको छैन । त्यो महायज्ञबाट महाराजले १ हप्तामै ४८ लाख रुपैयाँ कमाउन सफल हुँदा विद्यालयले अहिलेसम्म त्यसबाट तनाव मात्रै झेलिरहनुपरेको छ । अहिलेसम्म कबोल भएको त्यो पैसा उठाउन सकिएको छैन ।

तथ्य खोज्दै जाँदा आजभन्दा १२ वर्षअघि नेपाल साप्ताहिकले एउटा रिपोर्ट सार्वजनिक भएको थियो । २०६९ साल भदौ २४ गते ‘महाठग महाराज’ शीर्षकमा प्रकाशित भएको रिपोर्टमा उनले अमेरिकामा हुने कार्यक्रममा नेपाल र भारतबाट १०८ जनालाई प्रवचन गर्न लैजाने भन्दै १ सय जना विद्यार्थीबाट करोड रुपैयाँ उठाएर झ्वाम पारेको उल्लेख गरिएको छ ।

उनले अमेरिका जान आयोजक संस्थाको सदस्यतासहित कुल खर्च ५ लाख ५० हजार लाग्ने र सुरुमा पेस्कीबापत एक लाख रुपैयाँ दिनुपर्ने सर्त राखेर करोड रुपैयाँभन्दा धेरै उठाएका थिए । उनले पेस्की लिएकालाई विश्वप्रसिद्ध धार्मिक र सामाजिक संस्था वल्र्ड वेलफेयर भागवत ट्रस्ट, इन्टरनेसनल एजुकेसनल कन्फरेन्स, इन्टरनेसनल सोसाइटी फर कृष्ण कन्सिएसनेस (इस्कन) लगायत संस्थाहरू कार्यक्रमको आयोजक रहेको बताएका थिए ।

जबकि त्यतिबेलै इस्कनको नेपालस्थित कार्यालयले अमेरिकामा त्यस्तो कार्यक्रम नरहेको र कथित महाराजसँग संस्थाको कुनै सम्बन्ध नरहेको भन्दै आधिकारिक प्रतिक्रिया दिएको थियो । अहिले फेरि उनै विष्णु भण्डारी उर्फ कथित धर्मगुरु विष्णु प्रपन्नाचार्यकै ग्रान्ड डिजाईनमा पशुपतिमा कोटिहोम चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस