Latest News

को हुन् सरकारी जागिर लत्याएर क्रिकेटमा इतिहास रच्ने सम्झना खड्का ?

Nepalese Times July 21, 2024 (2 Month ago)    287 Views

नेपाली क्रिकेट जगतमा यतिबेला कसैको नाम चर्चामा छ भने त्यो हो सम्झना खड्का । सरकारी जागिरलाईसमेत लत्याएर क्रिकेटमा भविश्य खोज्न हिडेकी उनले मोजाको बलबाट क्रिकेट सिक्न थालेकी हुन् । उनै सम्झना खड्का को हुन् त ?

सम्झनाका परिवार तरकारी खेती पनि गर्छन् । खेतीपातीले उनको परिवारको घरखर्च चलेको छ । आर्थिक अवस्था कमजोर भएकाले सम्झनालाई परिवारका सदस्य सरकारी जागिरे बनेको देख्न चाहन्थे । क्रिकेट नखेल भविष्य छैन भन्ने सल्लाह दिन्थे । नेपालमा झन् खेलाडीको अवस्था राम्रो छैन । सबै खेलाडी विदेश गएका छन् भनेर परिवारले पटकरपटक सम्झनालाई सम्झाउने गर्दर्थे । परिवारले उनलाई प्राविधिक शिक्षा अनमी समेत पढाएको थियो । अनमीको पढाइ पूरा गरेपछि उनले जागिरको अवसर पनि पाएकी थिइन् । तर सम्झनाले मुखमा आएको सरकारी जागिर छोडिन्, क्रिकेट छोड्न भने सकिनन् ।

अहिले सम्झनालाई क्रिकेट खेल्नका लागि लाग्ने खर्च परिवारले नै दिएर सहयोग गरिरहेको छ । आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गरेर नेपालको नाम विश्वसामु चिनाओस् भन्ने उनको परिवारको अपेक्षा छ । शुक्रबार यूईईविरुद्ध भएको एसीसी महिला एसिया कप क्रिकेटमा सम्झनाले ४५ बलमा ११ चौका प्रहार गर्दै ऐतिहासिक ७२ रनको योगदान नगरिदिएको भए सायद नेपाललाई यो तहसम्मको सफलता मिल्दैन थियो होला ।

६ विकेटको सानदार जित हाँसिल गर्न नसकेको भए सायद अहिले पनि नेपाली महिला क्रिकेट टोली कमजोर टोली नै हो भनेर दर्ज भईरहन्थ्यो होला । तर, एकाएक सम्झनाले नेपाली महिला क्रिकेट टीमलाई ऐतिहासिक सफलता दिलाउन सफल भईन । अहिले उनको नाम मात्रै चर्चामा रहेन, सिंगो नेपाली टोली नै अब्बल साबित हुन पुगेको छ, विश्वको नजर नेपाली महिला क्रिकेट टोलीमाथि ठोक्किएको छ ।

सम्झनाले बनाएको ऐतिहासिक अर्थसतकीय योगदान नेपाली महिला ब्याटरले टी–२० अन्तर्राष्ट्रियमा बनाएको तेस्रो ठूलो तथा एसिया कपको उच्च स्कोर समेत हो । यस्तै, नेपालले टी–२० मा पार गरेको यो अहिलेसम्मकै ठूलो लक्ष्य हो । यूएईविरुद्धको खेलमा सम्झना खेलको प्लेयर अफ दि म्याच समेत बन्न सफल भएकी छिन् ।

खेलमा गरेको प्रदर्शनले मैदानमै सम्झनाका आँखा रसाउन पुगेको थियो । उनको आँसुमा १२ वर्षदेखिको मेहनत मिसिएको थियो । यही कारण उनी मैदानमै भावुक बनेकी थिइन् । बझाङको जयपृथ्वी नगरपालिका–९ रिठापाता देवलकी सम्झनाले क्रिकेट खेल्न थालेको एक दशक बढी नै भयो । १३ वर्षको उमेरदेखि क्रिकेट खेलेकी उनले अहिलेसम्म क्रिकेटलाई नै नरन्तरता दिइरहेकी छन् । सम्झनाले १२ वर्ष अघि पहिलो पटक बझाङको टिमको कप्तानी सम्झनाले सम्हालेकी थिइन् । जुनबेला केटी मान्छेहरूले क्रिकेट खेल्नु ‘फलामको चिउरा चपाउनु सरह’ थियो ।

बिहान स्कुल जाने त्यहाँबाट फर्किएपछि आफ्नो भागमा परेको घरको सबै काम सकेर सम्झना र उनका साथीहरू चैनपुरको देवल विमानस्थलको चौरमा जम्मा हुन्थे । उबेला क्रिकेट खेल्ने मैदान थिएन । त्यसो त अहिले पनि बझाङमा क्रिकेट खेल्ने मैदान बनेको छैन ।
उनीहरू एयरपोर्टको मैदानमा सिनियर दाइहरूसँग क्रिकेट सिक्थे। तर, क्रिकेट सिक्न न प्रशिक्षण केन्द्र न त प्रशिक्षक नै थिए, त्यसैमाथि परिवार र समाजले केटीहरूलाई खेलकुदमा अघि बढाउनै खोज्दैनथ्यो ।

क्रिकेट सिक्न थालेको ६ महिनापछि सम्झना बझाङ टिमको कप्तान बनेकी थिइन् । उनको कप्तानीमा जिल्लाबाट धनगढी, महेन्द्रनगर, बैतडी लगायतका ठाउँमा भएका क्षेत्रीयस्तरका प्रतियोगिताका खेलहरूमा जिल्लाले सहभागिता जनाएको थियो । जतिसुकै समस्याका पहाडहरू खडा भए पनि इच्छा भएपछि त्यसलाई चिरेर आफ्नो गन्तव्यमा हिँडिरहनु पर्ने रहेछ भन्ने कुरा सम्झनाबाट सिक्नुपर्ने उनका साथिहरु बताउँछन् । एक दशकदेखि क्रिकेटमा लखगेकी सम्झनाले राष्ट्रिय टिमबाट खेल्न थालेको मात्रै २ वर्ष भयो । यो पटकको एसिया कपको पहिलो खेल गरी उनले अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताका १७ खेल खेलिसकेकी छन्।

यही वर्ष नेपाल क्रिकेट संघ क्यानले उनलाई इमर्जिङ खेलाडीको क्याटागोरीमा राखेको छ । यही कारण क्यानबाट सम्झनालाई मासिक २० हजार तलबको सुविधा यही वर्षबाट भएको छ । दुई भाइ र दुई बहिनीमध्येकी सम्झना कान्छी छोरी हुन् । उनका दाइ नवीन खड्का मोजाको बलबाट सम्झनाले क्रिकेट सिकेको बताउँछन् । एसिया कपमा सम्झनाको उत्कृष्ट प्रदर्शनले परिवारलाई अथाह खुसी मिलेको छ । यो खुशी सम्झनाको परिवारलाई मात्रै हैन, सिंगो नेपाल र नेपाली क्रिकेट समर्थकका लागिसमेत मिलेको छ ।

प्रतिक्रिया दिनुहोस