Latest News

केपी ओलीका यी विश्वासपात्रहरुले बुझे करोडौँ रुपैयाँ, बालुवाटारमै पैसा बुझाउन को–को पुगेका थिए ?

Nepalese Times May 24, 2023 (11 Month ago)    555 Views

पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका मुख्य स्वकीय सचिव राजेश बज्राचार्यलाई बालुवाटारमै पुगेर १ करोड रुपैयाँ दिएको । तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलको मन्त्री क्वाटर पुल्चोकमै पुगेर ३ करोड रुपैयाँ दिएको । बादलका छोरालाई १ करोड रुपैयाँ दिएको । तत्कालीन गृहसचिव प्रेमकुमार राईलाई इन्द्रजित राईमार्फत गृह मन्त्रालयका सचिवको कार्यकक्षमै ३ करोड रुपैयाँ दिएको । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वसल्लाहकार डा. अजय क्रान्ति शाक्यलाई १ करोड रुपैयाँ दिएको । काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर विद्यासुन्दर शाक्यका स्वकीय सचिव राजेश्वर स्थापितलाई १ करोड रुपैयाँ दिएको ।

यो बयान नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने प्रकरणका मुख्य योजनाकार केशव दुलालको हो । दुलालको बयान अनुसार यो प्रकरणमा केपी शर्मा ओलीसमेत दोषी देखिन्छन् ।

नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने प्रकरणका मुख्य योजनाकार केशव दुलालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य स्वकीय सचिव राजेश बज्राचार्यलाई एक करोड रुपैयाँ बालुवाटार पुगेर दिएको बयान दिएका छन् । ब्रजाचार्यले २०७६ साल असोजमा टोपबहादुर रायमाझीका स्वकीय सचिव लिला जिसीमार्फत प्रधानमन्त्री क्वार्टर बालुवाटारमा बोलाएर १ करोड लिएको दुलालको बयानमा उल्लेख छ ।

त्यसपछि लिला जिसीले सामाजिक समितिबाट निर्णय गराउनुपर्ने रहेछ त्यसैले ऊर्जा मन्त्रीलाई पनि पैसा चाहियो भनेको दुलालले बयानमा भनेका छन् । ‘तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीका प्रमुख स्वकीय सचिव लिला जिसीले प्रधानमन्त्रीकोमा पैसा पुगिसक्यो, सामाजिक समितिबाट भुटानी शरणार्थीको विषय निर्णय गर्नुपर्ने रहेछ, ऊर्जा मन्त्रीज्यू र मलाई पनि रकम चाहियो भनी ऊर्जा मन्त्रीको क्वार्टर पुल्चोकमा बोलाई सामाजिक समितिबाट निर्णय भएको अघिल्लो दिन बेलुका एक करोड नगदै बुझिलिएका हुन्, उनको बयानमा उल्लेख छ।
यस्तै तत्कालीन प्रधानमन्त्री ओलीका पूर्व सल्लाहकार क्रान्ति शाक्य र काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले पनि पैसा लिएको दुलालले बयान दिएका छन्।

उनले तत्कालीन गृहमन्त्री रामबहादुर थापाको परिवार र गृहसचिव प्रेम कुमार राईले पनि पैसा लिएको बयान दिएका छन्। उनले गृहसचिव राईलाई तीन करोड बुझाएको बताएका छन्। सानु भण्डारीले पनि तत्कालीन गृहसचिव राईले पैसा लिएको बताएका छन् । उनले यो प्रकरणमा त्यसपछिका गृहसचिव टेकनारायण पाण्डेले पटकपटक गरी आफूसँग १ करोड २४ लाख ५० रुपैयाँ लिएको बयान दिएका छन्।

उनले मन्त्रालयको आफ्नो कार्यकक्षको गोप्य कोठामा बोलाई पैसा बुझेको पनि खुलासा गरेका छन् । पूर्व गृहसचिव पाण्डे पक्राउ परे पनि उनीहरूमध्ये तत्कालीन प्रधानमन्त्री ओलीका स्वकीय सचिव बज्राचार्य, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल, उनकी श्रीमती नैनकला थापा, गृहसचिव प्रेम कुमार राईलाई प्रहरीले अनुसन्धान गरेको देखिन्न ।

प्रहरीले उनीहरूविरूद्ध प्रमाण नभेटिएको बताउने गरेको छ। तर सरकारी वकिलले भने उनीहरूबारे पनि थप अनुसन्धान गर्न निर्देशन दिन सक्नेछ । यस्तै नेकपा एमालेका नेता तथा पूर्व मन्त्री टोपबहादुर रायमाझीले आफ्नो छोरालाई पक्राउ गरी हतकडी लगाएको खबर सुनेकोले आफूलाई पनि पक्राउ गरी हतकडी लगाउँछन् भन्ने लागेर मन बिग्रिएको हुँदा केही अवधि सम्पर्क विहीन बनेको आफ्नो बयानमा बताएका छन् । रायमाझीले आफ्नो कदम रोकिएको मात्र तर आफै सम्पर्कमा आउने क्रममा रहेको पनि दाबी गरेका छन् ।

अधिकार प्राप्त सरकारी अधिकारी समक्षको बयानमा रायमाझीले सानु भण्डारीको घरबाट प्राप्त डायरीमा आफ्नो नाममा रकम दिएको भनिएको कुरामा कुनै सत्यता नरहेको बताएका छन् । उनले केशव दुलाल र सानु भण्डारीसँगको अफरमा ‘फ्रेस’ हुनका लागि मात्र हेलिकप्टरमा गोसाईंकुण्ड पुगेको जिकिर गरेका छन् ।
बयानमा रायमाझीले गृह मन्त्रालयमा इन्द्रजीत राईको कार्यकक्षमा राई, भण्डारी र दुलालबीच लेनदेनको विवाद भएको सुनेको स्वीकार गरेका छन् ।
यस्तै मुख्य योजनाकार मध्ये एक भनिएका सानु भण्डारीले नै आफूलाई डा. इन्द्रजीत राईले अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको बयान दिएका छन् । अधिकार प्राप्त सरकारी अधिकारी समक्षको बयानमा भण्डारीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार रहेका राईले आफूलाई अमेरिका पठाइदिन्छु भन्दै रकम लिएको तर काम नगरेको बताएका हुन् ।

बयानमा भण्डारीले पटकपटक कसैलाई पनि अमेरिका पठाइदिने भन्दै कसैसँग कुरा नगरेको, कसैलाई रकम नदिएको तथा कसैसँग रकम नलिएको जिकिर गरेका छन् । यस्तै तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नरहेको र आफूलाई फसाउने काम भएको बयान दिएका छन् । अधिकार प्राप्त अधिकारीहरूलाई दिएको बयानमा पाण्डेले यस प्रकरणबारे जानकारी लिनका लागि प्रतिवादी केशवप्रसाद दुलालसँग सम्पर्क गरेको दाबी गरेका हुन् ।

सचिव पाण्डेले आफूले प्रत्यक्ष रूपमा रकम नलिएको र तत्कालीन गृहमन्त्री बालकृष्ण खाण वा उनको सचिवालयले रकम लिए÷नलिएको आफूलाई थाहा नभएको पनि जिकिर गरेका छन् । आफू निजामती सेवामा इमानदार र नैतिकवान कर्मचारीको रूपमा परिचित व्यक्ति भएको दाबी गर्दै उनले आफ्नो सरल स्वभावको गलत प्रयोग गरी आफूले खुलाएका विषयमा संलग्नता भएको जस्तो देखिने गरी अन्य व्यक्तिहरूले गलत कार्य गरी फाइदा लिएको र बदनाम गर्न खोजेको आरोप समेत लगाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस