Latest News

‘सक्किगोनि’का ‘सिते बा’ ले पनि काठमाडौंबाट चुनाव लड्ने

Nepalese Times September 1, 2022 (1 Year ago)    499 Views

काठमाडौं । हाँस्य टेलिश्रृंखला ‘सक्किगोनि’ का कलाकार मधुसुदन पाठक (सिते बा) काठमाडौंबाट चुनाव लड्ने भएका छन्। आगामी मंसिर ४ मा हुने चुनावमा उनी काठमाडौं क्षेत्र नम्बर ५ मा उम्मेदवार हुन लागेका हुन्। पाठकले स्वतन्त्र रूपमा उम्मेदवारी दिने तयारी गरेका छन्।

ललितपुरमा आज भएको ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा कार्यक्रममा पाठक पनि उपस्थित थिए। यो अभियानको संयोजक सुमन सायमि छन्।

स्वतन्त्रहरूले एकै चुनाव चिन्ह र घोषणा पत्रमा चुनाव लड्नका लागि यो अभियान सञ्चालन गर्ने बताएका छन्। उनीहरूले पार्टीका पुराना नेताहरूलाई यो चुनावबाट विस्थापित गर्ने दाबी पनि गरेका छन्।

यस्तै काठमाडौं क्षेत्र नम्बर ८ बाट आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका सुमन सायमि लगायतले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गरेका छन्।

सायमि संयोजक रहेको यो अभियानले देशैभरबाट स्वतन्त्र रूपमा उम्मेदवारी दिन चाहेकालाई एकै ठाउँमा उभिन आग्रह पनि गरेको छ।आज ललितपुरमा कार्यक्रम गरेर उक्त अभियानले एकै चुनाव चिन्ह र साझा घोषणा पत्रका साथ संयुक्त प्रचारप्रसार गर्ने पनि बताएका छन्। कार्यक्रममा विद्या महर्जन, राजाराम तण्डुकार, मधुसुदन पाठक, भिष्म रानालगायत उपस्थित थिए।

विद्या काठमाडौं ९ बाट उम्मेदवार हुने बताएकी छन्। राजाराम ललितपुर ३, कलाकारसमेत रहेका मधुसुदन काठमाडौं ५ र भिष्म रूपन्देही ५ बाट स्वतन्त्र उम्मेदवार हुने बताएका छन्।

स्वतन्त्र उम्मेदवारहरूले पार्टीका पुराना नेताको विकल्प दिन आफूहरूले चाहेको बताइरहेका छन्।सायमि काठमाडौं महानगरपालिकाको मेयरमा गत वैशाखमा स्वतन्त्र उम्मेदवार भएका थिए। उनी बालेन शाहसँग पराजित भएका थिए।

प्रतिक्रिया दिनुहोस