काठमाडौं – कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबीच भेटवार्ता भएको छ।
मंसिर हुने निर्वाचनमा निर्वाचन अधिकृत र न्याय सेवाका कर्मचारीहरुको मागका विषयमा कुराकानी भएको छ। कामु प्रधानन्यायाधीश कार्कीलाई भेट्न थपलिया सर्वोच्च पुगेका हुन् । उनीहरुबीच आगामी मंसिरमा हुने निर्वाचनका विषयमा छलफल भएको छ ।
हिमालयन होटलमा पत्रकारसँगको अन्तरक्रिया उद्घाटन गरेर प्रमुख आयुक्त थपलिया कामु प्रधानन्यायाधीश दीपककुमार कार्की भेट्न सर्वोच्च पुगेका थिए ।
आयोगले जिल्ला न्यायाधीशलाई प्रमुख निर्वाचन अधिकृत बनाउने गरेको छ। त्यस्तै न्याय, कानुन र सरकारी वकिल समूहका कर्मचारीहरुलाई पनि निर्वाचनमा खटाउने गरेको छ। उक्त निर्वाचनका लागि आवश्यक जनशक्ति व्यवस्थापनमा सहजीकरणका लागि प्रमुख आयुक्तले प्रस्ताव गरेका थिए ।
प्रधानन्यायाधीश न्याय सेवा आयोगको पनि अध्यक्ष भएको र न्याय सेवा आयोगले कर्मचारी खटाउने भएकाले उनीसँग भएको भेट नियमित रहेको निर्वाचन आयोगले जनाएको छ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा गर्नुपर्ने भएकाले त्यसका लागि आवश्यक जनशक्तिको व्यवस्था पनि चुनौतीपूर्ण रहेको छ ।