Latest News

नागरिकता विद्येयकबारे कांग्रेस सचेतक विश्वकर्माले संसदमै दिए कडा जवाफ

Nepalese Times August 18, 2022 (2 Year ago)    420 Views

काठमाडौं ।

कांग्रेस सचेतक मीनबहादुर विश्वकर्माले नागरिकता कानुन निर्माणका क्रममा राजनीतिक दलहरूको मौसमअनुसारको अडान देखिएको टिप्पणी गरेका छन् ।

उत्तर र दक्षिण फर्किँदा फरक–फरक राष्ट्रियता देखिएको भन्दै उनले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेप्रति कटाक्ष गरेका हुन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको सन्देश र नागरिकता विधेयकमाथिको छलफलका क्रममा विश्वकर्माले यस्तो बताएका हुन् ।

उनले भने, ‘हामी मौसमअनुसार उभिन्छौं । हाम्रो राष्ट्रियता पूर्व फर्किँदा एक खालको, पश्चिम फर्किँदा एक खालको राष्ट्रियता, उत्तर फर्किँदा एक खालको र दक्षिण फर्किँदा एक खालको राष्ट्रियता हुने गरेको छ । त्यसैले समस्या गरेको छ ।

राष्ट्रपतिले संसदीय प्रणालीमा संसद्ले पारित गरेको विधेयक प्रमाणीकरण गर्नुपर्नेमा त्यो नगरेकोप्रति पनि विश्वकर्माले असन्तुष्टि व्यक्त गरे ।

संसदीय प्रणालीमा संसद्ले पारित गरेको विधेयकलाई प्रमाणीकरण राष्ट्रपतिले गर्नुपर्ने भन्दै उनले त्यो गर्नमा १४ दिनको विलम्बपछि फेरि सदनमा पुनर्विचारको लागि संविधानको धारा टेकेर आएको र राष्ट्रपितले नागरिकता विधेयकलाई फिर्ता गरेको विषयमा केही भन्न नमिले पनि अध्यादेश आउँदा के गरिएको थियो भन्ने कुरा भने स्मरण गर्नुपर्ने बताए ।

नागरिकता विधेयकमा रहेका विषयवस्तु सबै दलहरूले स्वीकार गरेको विश्वकर्माको भनाइ थियो । उनले नागरिकता कानुन समयमा नबन्दा नागरिकताविहीनलाई समस्या परेको बताए ।

नागरिकता विधेयक २२ महिना समितिमा अल्मलिएको र नागरिकताविहीनले नागरिकता पाउने अवस्था नभएको भन्दै उनले त्यसैलाई अध्यादेशको रूपमा ल्यायौं र अध्यादेशलाई राष्ट्रपतिले लामहोहर लगाउँदा उहाँलाई ज्ञान भएकै हो, त्यै अध्यादेशलाई जस्ताको तस्तै विधेयक ल्याएर आएको भने ।

नागरिकता विधेयकलाई पारित गर्नका लागि सबै दल तयार हुनुपर्ने भन्दै उनले विगतमा गरेका, बोलेका विषयमा ख्याल गरेर नागरिकता विधेयकका विषयमा एकमत हुन आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस