Latest News

ओलीजी चिन्ता नलिनुस् तपाईको उपचार कांग्रेसले चन्दा उठाएर गर्छः रामहरि खतिवडा

Nepalese Times August 15, 2022 (2 Year ago)    480 Views

काठमाडौं ।

आईतबार भएको एक कार्यक्रममा पुर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसँग उपचार गर्ने पैसासमेत नरहेको बताए ।

आफू र आफ्नी श्रीमतीको नाममा रहेको सबै सम्पत्ती राज्यलाई बुझाएको भन्दै उनले अब आफूसँग उपचार गर्ने पैसासमेत नरहेको बताए ।

सांसदको पैसाले आफ्नो खर्च चलाएको र त्यो पैसाले उपचार गर्न नपुग्ने भन्दै ओलीले दिएको अभिव्यक्तिबारे विभिन्न टिकाटिप्पणी भइरहेको छ ।

ओलीको यो अभिव्यक्तिप्रति नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद रामहरि खतिवडाले जवाफ फर्काएका छन् । उनले एमालेका अध्यक्ष ओलीको उपचार कांग्रेसले चन्दा उठाएरै भए पनि गर्ने व्यंग्य गरेका छन् ।

आइतबार बेलुका ट्वीट गरेर नेता खतिवडाले ओलीको स्वास्थ्य सधैं राम्रो होसभन्दै उपचार गर्न पैसा नभए कांग्रेसले चन्दा उठाएर भए पनि उपचार गर्ने बताए ।

नेता खतिवडाले ओलीलाई उपचारप्रति चिन्ता नलिन आग्रह गर्दै यदि उपचार खर्च नपुगेमा कांग्रेसले चन्दा उठाएर उपचार गर्ने घोषणासमेत गरे ।

‘केपी ओलीलाई उपचार गर्न पैसा छैन रे ?’, खतिवडाले प्रश्न गर्दै भनेका छन्, ‘यति, ओम्नि, वाइडबडी, सेक्युरिटी प्रेसले के हुन्छ रु’

‘सरकारले उपचारको व्यावस्था गर्ला, नत्र कांग्रेसले चन्दा उठाएर उपचार गर्छ’, कांग्रेस नेता खतिवडाले भने, ‘तर वहाँको स्वस्थ्य सधैं राम्रो होस् ।’

झण्डै दुईतिहाईको कम्युनिस्ट सरकारको प्रधानमन्त्री रहेका बेला ओलीको पालामा कोरोना महामारीका बेला ओम्नी घोटाला काण्ड, यती समूहलाई राज्यको जमीन कौडीको भाउमा दिने, प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड कमिशन मागेर गोकुल बास्कोटाले मन्त्री गुमाएको, बालुवाटार जग्गा काण्डमा विष्णु पौडेलले जग्गा फिर्ता गरेको, झापाको गिरीबन्धुको चियाबगानको जग्गा काण्ड लगायत दर्जन बढी काण्ड भएका थिए ।

ती सबै काण्डमा ओलीको पनि संलग्नता रहेको आरोप विपक्षीहरूले लगाउँदै आएका छन् । अहिले आएर ओलीले आफ्नो उपचार गर्न पनि पैसा नरहेको भनेपछि अरु दलका नेताहरुले रोष व्यक्त गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस