काठमाडौं ।
तीन दिने चीन भ्रमणका रहेका परराष्ट्रमन्त्री डा। नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच भेटवार्ता भएको छ । येल्लो सी रहेको तटीय सहर छिङ्दाओमा परराष्ट्रमन्त्री खड्काले चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका हुन् ।
भेटवार्ता सौहार्दपूर्ण र फलदायी भएको बताइएको छ । दुई मन्त्रीले नेपाल(चीन सम्बन्धका विविध पक्षका विषयमा छलफल भएको र पारस्परिक हितका विषयमा सहकार्य गरेर अघि बढ्ने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
साथै चीनले सन् २०२२ का लागि नेपाललाई १५ अर्ब रुपैयाँ भन्दा बढी सहयोग गर्ने भएको छ । विदेशमन्त्री वाङ यीले नेपाललाई ८०० मिलियन आरएमबी (१५ अर्ब १३ करोड रुपैयाँ बढी) सहयोग गर्ने घोषणा गरेका हुन् ।
परराष्ट्रमन्त्री खड्कासँगको भेटवार्तामा चिनियाँ विदेशमन्त्रीले केरुङ—काठमाडौ रेलको पूर्व सम्भाव्यता अध्ययन अनुदानमा सम्पन्न गर्ने घोषणा गरेको मन्त्रालयले जनाएको छ।
त्यसैगरी भेटवार्तामा नेपाल-चीन सीमापार विद्युतीय प्रशारण निर्माणबारे पनि छलफल भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार वाङले विद्युतीय प्रशारण लाइन निर्माणमा पनि आर्थिक सहयोग गर्ने आश्वासन दिएका छन्।
यसअघि वाङको नेपाल भ्रमणका क्रममा नेपाल-चीन सीमापार विद्युतीय प्रशारण लाइनको पूर्व सम्भाव्यता अध्ययनको अवधि दुई वर्ष थप्ने सहमति भएको थियो।
नेपाल विद्युत् प्राधिकरणका अनुसार पूर्व सम्भाव्यता अध्ययन अघि बढाउन गृहकार्य भइरहेको छ। तर यसको प्रारुपबारे दुई पक्षबीच सहमति हुन बाँकी छ।
वार्तामा चिनियाँ विदेशमन्त्री वाङले सन् २०२२ का लागि नेपाललाई साढे १५ अर्ब रुपैयाँ (८०० मिलियन चिनियाँ युआन) अनुदान सहायता घोषणा गरेका छन्।
परराष्ट्र अधिकारीहरुका अनुसार अब अर्थ मन्त्रालयले उक्त अनुदान सहायता कार्यान्वयनका लागि चिनियाँ पक्षसँग संवाद गर्नेछ।