काठमाडौं ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा भएसँगै उम्मेदवारी घोषणाको चटारो चुलिएको छ । केहीले स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै चुनावी अभियानमा होमिएका छन् भने केहीले राजनीतिक दलमार्फत उम्मेदवारी दने बताइसकेका छन् ।
यसैक्रममा नेपाली कांग्रेसको कारबाहीमा परेका चितवन भरतपुरका जगन्नाथ पौडेलले पनि संसदीय चुनावमा उम्मेदवारी दिने तयारी गरेका छन् ।
गएको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रका रेनु दाहालसँग पराजित भएका उनले मंसिर ४ गतेका लागि तय भएको चुनावमा पनि उम्मेदवारी दिने मनस्थिति बनाएका हुन् ।
उनले चितवनबाटै उम्मेदवारी दिने तर कुन क्षेत्रबाट उम्मेदवारी दिने भन्नेबारे छलफलपछि टुंगो लाग्ने बताएका छन् । कांग्रेसको कारबाहीमा परेका उनले यो पटक नेपाली कांग्रेस बीपीलगायत अरु कुनै पार्टीबाट या स्वतन्त्र उम्मेदवारी दिने भन्नेबारे छलफल गरिरहेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । यो पटक पनि सत्ता गठबन्धन भएमा चितवन कांग्रेसीहरुले माओवादी केन्द्रलाई भोट हाल्नुपर्ने बाध्यता रहेको छ । त्यसैले पनि आफूले उम्मेदवारी घोषणाको तयारी गरेको पौडेलले बताएका छन् ।
स्थानीय तहको चुनावमा नेपाली कांग्रेसबाट बागी उम्मेदवार बनेका पौडेल कांग्रेसका चिनिएका नेता हुन्। यद्यपि यसपटक भने उनी महाधिवेशन प्रतिनिधिमै पराजित भए। चितवनको जिल्ला सभापतिका दाबेदारका रुपमा हेरिएका उनी खुल्लातर्फ १० जनामा अटाएनन्।
क्षेत्रीय प्रतिनिधिमा भने सहमतिमै उनी चयन भएका थिए। २०४९ सालको स्थानीय निर्वाचनमा तत्कालीन भरतपुर नगरपालिकाको उपप्रमुख बनेका पौडेल राष्ट्रिय सभाको सदस्यसमेत बनिसकेका छन्।
चितवन जिल्ला अदालत बार एसोसिएसनका अध्यक्षसमेत बनिसकेका पौडेल बालकुमारी कलेज नारायणगढका स्थापनाकर्तामध्येका एक हुन्। हाल पौडेल क्याम्पस संचालक समितिका अध्यक्ष हुन्।