Latest News

कांग्रेसका दोलखा प्रदेश सभापति ४ दिनदेखि बेपत्ता, गाडिका सहचालकले किन यसो भने ?

Nepalese Times August 10, 2022 (2 Year ago)    546 Views

काठमाडौं ।

नेपाली कांग्रेस दोलखा प्रदेश (ख) का सभापति चित्रप्रसाद दाहाल साउन २२ गते बिहानदेखि सम्पर्कविहीन भएका छन् ।

भक्तपुरको बालकोटबाट दोलखाको चरिकोट जानका लागि गाडी चढेका सभापति दाहाल त्यसपछि कहाँ पुगे भन्ने अहिलेसम्म पत्ता लागेको छैन । बालकोटबाट बा. २० ख ९८२२ नम्बरको सार्वजनिक बसमा आफूले नै दाइलाई चढाएको उनका भाइ गणेशप्रसाद दाहालले बताए ।

तर, बालकोटबाट जडीबुटीमा झरेर चरिकोटको गाडी समात्नु पर्नेमा सभापति दाहाल कलंकीमा पुगेपछि मात्रै उत्रिएको सो गाडीका सहचालकले बताएको उनका भाइले जानकारी दिएका छन् ।

‘बालकोटबाट चरिकोट जान्छु भनेर हिड्नु भएको गाडीमा मैले आफैले चढाइ दिएको हो,’ सभापति दाहालका भाइले भनेका छन् । सो गाडीका सहचालकले हराएका भनिएका दाहाल जडिबुटीमा नझरिकन कलंकीमा झरेको बताएको उनका भाइले बताए ।

साउन २२ गते बिहान ६ बजेर ३९ मिनेटमा सभापति दाहालकै भाइले उनलाई बालकोटको महेन्द्र शान्ति स्कुल नजिकबाट गाडी चढाएका थिए । सभापति दाहालले त्यसपछि साउन २२ गते नै बिहान ६ बजेर ५२ मिनेटमा आफ्नो मोबाइलको चार्ज सकिएर अफ हुन लागेको भन्दै आफूलाई फोन गरेको उनका भाइले बताएका छन् ।

सोही दिन बिहान ६ बजेर ५६ मिनेटमा फोन लगाउँदादेखि सभापति दाहालको मोबाइल अफ रहेको उनका भाइले बताए । आफ्ना दाइको अपहरण भएको हुनसक्ने शंका भाइ गणेशले गरेका छन् ।

यस विषयमा महानगरीय प्रहरी वृत ठिमी भक्तपुरमा उजुरी दिइसकेको र प्रहरीले खोज तथा अनुसन्धान भइरहेको जानकारी दिएको सभापति दाहालका भाइले बताएका छन् ।

महानगरिय प्रहरी वृत ठिमीका इन्सपेक्टर मनोज श्रेष्ठले यो घटना अनुसन्धानका क्रममा रहेको बताएका छन् । सभापति दाहालको मोबाइल फोन ट्रयाक गर्दा जडिबुटीपछि मोबाइल अफजस्तो देखिएको र खाेजीका क्रममा उनी कलंकीमा नै झरेको बुझिएकाे इन्सपेक्टर श्रेष्ठले बताए ।

घटनाको प्रवृति हेर्दा सभापति दाहाल आफै कलंकीतिर गएको देखिएकोले अपहरणको आशंका भन्न नसिकने उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस