काठमाडौं ।
नेपाली काँग्रेस पदाधिकारी बैठक सकिएको छ। बैठकले स्थानीय तहमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रमको कार्यतालिका तय गरेको छ ।
महामन्त्री गगन थापाको सभापतित्वमा बसेको पदाधिकारी बैठकले अभिमुखीकरण कार्यक्रमको कार्यतालिका तय गरेको हो ।
काँग्रेसले पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा साउन ३० र ३१ पालिका प्रमुख र उपप्रमुखलाई ललितपुरमा दुई दिन अभिमुखीकरण कार्यक्रम दिँदै छ ।
कार्यक्रमको पहिलो दिन वरिष्ठ कानुनविद् काशिराज दाहाल, योजना आयोगको उपाध्यक्ष विश्वनाथ पौडेल, अर्थशास्त्री जगदीश भट्टराई, प्राकृतिक स्रोत सम्बन्धि विज्ञ सन्तोषमणि नेपालले प्रशिक्षण दिने कार्यक्रम छ ।
यस्तै दोस्रो दिन उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगन थापा विश्वप्रकाश शर्मा, प्रवक्ता प्रकाशशरण महतले प्रशिक्षण दिने छन् । उपसभापतिद्वय खड्का र गुरुङले स्थानीय सरकार र पार्टीको सम्बन्धनबारे प्रशिक्षण गर्ने छन् ।
महामन्त्री गगन थापाले घोषणापत्रबारे प्रशिक्षण दिने छन् भने विश्वप्रकाश शर्माले समसामयिक राजनीतिबारे धारणा कुरा राख्ने छन् । यस्तै प्रवक्ता प्रकाशशरण महतले प्रचार–प्रसार अभियानबारे प्रशिक्षण दिने कार्यक्रम तय गरिएको छ ।