काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चारजना ज्यान गएको अवस्थामा फेला परेका छन् ।
तारकेश्वर नगरपालिकास्थित काभ्रेस्थलीमा सोमबार बिहान एकै परिवारका चारजना ज्यान गएको अवस्थामा फेला परेका काठमाडौंका प्रहरी प्रमुख भरत बोहराले बताएका छन् ।
उनका अनुसार आफ्नै घरभित्र बाबु, आमा र छोराछोरी ज्यान गएको अवस्थामा फेला परेका हुन् । अहिले उपत्यका प्रहरी अपराध महाशाखा र काठमाडौं परिसरको टोली घटनास्थलमा गइरहेको छ।
ज्यान गुमाउनेमा ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी आशिका पाण्डे र ८ वर्षीय छोरा आशिक पाण्डे रहेका छन्।
यस्तै पोखरा महानगरपालिका–६ डिहिकोपाटन पँधेरोमा आज बिहान पहिराले घर पुरिँदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।
अविरल वर्षापछि घर माथिबाट आएको पहिराले स्थानीय लक्ष्मी खड्का क्षेत्रीको ब्लकको गारो र टिनको छानो भएको एक तलाको कच्ची घरको कोठा भत्किँदा कोठा भाडामा बस्ने वर्ष २६ का सन्तोष सुनारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले बताए ।
उनका अनुसार घटनामा घाइते सुनारलाई बिहान उद्धार गरी उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकामा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
घटनामा कास्कीको माछापुच्छे गाउँपालिका–१ भुर्जुङखोला घर भई सोही घरमा बस्ने सन्तोषकी दिदी २७ वर्षीया सुनिता सुनार घाइते भए ।उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेको बाहिरी चोट नदेखिएको र अवस्था मध्यम रहेको बताइन्छ ।