Latest News

भूकम्पले खोटाङमा घरहरु भत्किए, यस्तो खबर आएपछि जनप्रतिनिधिहरु घटनास्थलतिर लागे

Nepalese Times July 31, 2022 (2 Year ago)    463 Views

काठमाडौं ।

खोटाङको मात्तिमबिर्तामा भूकम्पका कारण घरहरु भत्किएको आशंका गरिएको छ । ६ रेक्टर स्केलको भूकम्प गएको र भूकम्पका कारण घरहरु भत्किएको आशंकासहित जनप्रतिनिधिहरु त्यसतर्फ गएका छन् ।

त्यो ठाउँ दुर्गम भएकाले पुष्टि हुन बाँकी रहेको र घरहरु भत्किएको भन्ने सूचना आएकोले आफूहरु त्यसतर्फ जान लागेको साकेला गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष अर्जुन कटवालले बताएका छन् ।

भूकम्पको केन्द्रबिन्दु यही वडामा पर्छ । बस्ती भएकै ठाउँमा भूकम्पको केन्द्रबिन्दु भएकाले क्षति भएको हुनसक्ने आशङ्का गरिएको छ । यो बस्तीमा ढुङ्गा र माटोले बनेका दुईदेखि तीन तले कच्ची घरहरु छन् । क्षतिबारे बुझ्न साकेला गाउँपालिकाका अध्यक्षसहित आफूहरु त्यसतर्फ जान लागेको उनले बताए ।

भूकम्पले घर भत्काएको खबर पाएको खोटाङका सहायक प्रमुख जिल्ला अधिकारी पवित्र प्रकाश शाहले पनि बताएका छन् । बिहान ८ बजेर १३ मिनेट जाँदा मात्तिमबिर्तामा ६ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पको धक्का भोजपुर, इलाम, मोरङ र काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा महसुस गरिएको थियो ।

यसअघि साउन ९ गते सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भुकम्प गएको थियो । सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा पनि महशुस भएको थियो ।

यो २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पको परकम्प नै भएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार गोरखा भूकम्पपछि अहिलेसम्म ४ रेक्टर स्केल माथिका ५ सय ७९ परकम्प गएको छ ।

भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् भरतप्रसाद कोइरालाका अनुसार सामान्यतया भूकम्प भनेको पृथ्वी हल्लिनु हो। पृथ्वी जुनसुकै कारणले हल्लिएको भए पनि त्यो भूकम्प हो।

भूकम्प चार किसिमले जान्छ। पहिलोमा टेक्टोनिक प्लेटको चालको कारण, दोस्रो ज्वालामुखी विष्फोटका कारण, तेस्रो कोल्याप्स भूकम्पका कारण र चौथो भनेको आणविक परिक्षणका कारण जान्छ।

पृथ्वीमा सात वटा मूख्य प्लेटहरु हुन्छन्। ती सात वटै प्लेटहरुसँगै हिडिरहेका हुन्छन्। जब ति प्लेटहरु एकआपसमा ठोक्किन्छन् अनि पृथ्वीमा भूकम्प जान्छ। दुई वटा प्लेटहरु जुन ठाउँमा ठोक्किन पुग्छन्, त्यो ठाउँमा सबैभन्दा ठूलो भूकम्प जाने गर्छ। यो तीन किसिमले हुन्छ, कोइरालाले भने।

कोइरालेले भने ‘पृथ्वीको सतह भन्दा ३० किलो मिटर माथिबाट आउने स्यालो, ३० देखि ७० किलो मिटरसम्मको मिडियम र ३० देखि ३ सय किलो मिटरसम्मको डिप हो। पृथ्वीमा भूकम्प जाँदा बढि क्षति गर्ने भनेको यही ३० किलोमिटरको स्यालो भूकम्प हो।’

उनका अनुसार भूकम्प जति माथिबाट गयो त्यसले झन धेरै असर गर्छ। २०७२ वैशाख १२ गतेको भूकम्प यही स्यालो भूकम्प हो। भूकम्प जहिले पनि दुई वटा वेभ मार्फत जान्छ। पहिलो बडि वेभ र दोस्रो सर्फिस वेभ हो।

बढि वेभमा प्राइमरी र सेकेन्डरी र सर्फिस वेभमा रेली र लव भन्ने फरक फरक प्रकारका वेभहरु हुन्छन्। विभिन्न सिद्धान्तका अनुसार भूकम्प होरिजोन्टल र भर्टिकल वेभबाट जान्छ। तर कहिलेकाहीं यी दुवै वेभबाट जाने गर्छ। यसरी गयो भने यसले पृथ्वीमा ठूलो असर पुर्याउँछ।

प्रतिक्रिया दिनुहोस